काठमाडौं- कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीले सपथ लिएका छन्।

सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्ष सिंहदरबारमा आज उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए। सो क्रममा चौधरीले थारु भाषामा सपथ लिए। उनलाई संसद् सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले सांसद्को लोगो लगाइदिए।

सपथ कार्यक्रममा राजपाका शीर्ष नेताहरु पनि उपस्थित थिए।

चाैधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। राजपाका उम्मेदवार चौधरी ३४ हजार ३ सय ४१ मत ल्याई विजयी भएका थिए।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थारु आन्दोलनमा चौधरीले अगुवाइ गरेको आरोप लागेको थियो। उक्त घटनामा एक नाबालकसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो। घटनापछि चौधरी भारतमा लुक्दै बसेका थिए।

टीकापुर घटना गराएको अभियोगमा उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दा दायर गरिएको थियो।

चौधरीले गत फागुनमा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। उनी हाल पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय