दाङ- पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङकाे रिहारमा बस र जिप एकापसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना घाइते भएका छन्।

चितवन गीतानगरबाट बाँकेको शमशेरगञ्ज अाउँदै गरेकाे बा१२च ३१२२ नम्बरको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना५ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो।

स्कारपियोमा सवार ८ जनामध्ये ६ जनाको मृत्यु भएको हो। २ जना घाइतेलाई उपचारको लागि कोहलपुर लगिएको छ।

विवाहवाट फर्किरहेको जिपमा दुलाहाका बुवाआमा र आफन्त थिए। मृत्यु हुनेमा दुलाहाका बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीय आमा विमला खत्री, ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ।

दुर्घटनामा ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन्। बुवाआमा र आफन्त चढेको स्कारपियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुलहा र दुलही भने अर्को गाडीमा रहेकोले सुरक्षित रहेको बताइएको छ।

मृतक सवैको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय