तीन वर्ष पुग्नै लाग्दा मैले पिता गुमाउनु पर्यो । पिताको सामीप्यता अनि छहारी कहिल्यै अनुभूति गर्न नपाएकी म जब हरेक वर्ष पितृ औंशी आउँछ खुशी हुन सक्दिनँ । यो दिन (दिवस) नमनाइएको भए सायद खुसी हुन्थेँ होला । पिता हुनेले प्रेमभाव प्रकट गर्ने अवसर हो यो । एकै दिन भए पनि आफ्नो पिताको इच्छा र चाहना सन्तानले महसुस गर्न सकून् पिताको आदरभाव र सम्मान गर्न सकून् भनेरै पितृ औंशीलाई बाबुको मुख हेर्ने दिनको रूपमा मनाइन्छ ।

हुन त यो संसारमा पिताको स्पर्श नपाएकाहरू मजस्ता धेरै छन् । अनि यो दिन आउँदा उनीहरू सबैलाई मलाई जस्तै हुन्छ जस्तै लागिरहन्छ ।

बाबुबिनाको जीवन बाँच्नेहरूलाई थाहा छ, बाबुले हात नसमाउँदा आफ्नो सङ्घर्षको खुड्किला आफैँ चढ्नुको दुःख के हो ।

कुशे औंशी अर्थात बुबाको मुख हेर्ने दिन बुबाको सम्मानमा मनाउने विशेष चाढ हो । भाद्र महिनाको कुशे औंशी (अमावस्य)का दिन यो पर्व मनाउने प्रचलन छ । यस दिन बुुबा हुनेले मुख हेर्ने अर्थात् सम्मान प्रकट गर्ने गर्छन् भने बुबा नहुनेहरूले तीर्थस्थलहरूमा गई श्राद्ध, दान, तर्पण दिने काम गर्छन् ।

पिताविनाको बाटो छरपस्ट हुन्छ । न त्यहाँ लड्न खोज्दा समाउने दह्रा हातहरू हुन्छन् न त छरिँदा लयमा ल्याउने सम्हाल्ने व्यक्ति नै ।

कहिले काहीँ पीडामा हुँदा आज सपनामा आएर बाबाले टाउको सुमसुम्याइदिए नि हुन्थ्यो भन्ने चाह हुँदाहुँदै पनि आँखामा बुबाको आकृति आउँदैन किनकि मैले बुबाको अनुहारलाई महसुस गर्नेगरीको, आकृति भेट्ने गरी बुबासँग समय बिताउनै पाइन ।

बुबाको ब्ल्याक एन्ड ह्वाइट फोटो हेरेर कल्पना गर्छु, मेरा बुबा कस्ता पो थिए होलान् भनेर ।

आमा मेरा बुबा कस्तो हुनुहुन्थ्यो सोध्थेँ म आमालाई ।

आमा रेडियो नेपालमा नवराज लम्सालको कार्यक्रम सुन्नुहुन्थ्यो अनि भन्नु हुन्थ्यो, तिम्रो बाबाको आवाज यस्तै थियो । अनि कविता पनि यसरी नै वाचन गर्नुहुन्थ्यो । ओहो मेरो बुबा त कविता पनि लेख्ने हुनुहुँदो रहेछ हगि आमा । कस्तो पो हुनुहुन्थ्यो होला । पटक पटक छाम्छु त्यो तस्बिर । तर तस्बिरले कविता गाउँदैन । मायाले सुमसुम्याउँदैन पनि । मात्र आमाले भनिदिएको भरमा म बुबालाई महसुस गर्छु । कहिलेकाहीँ रेडियोमा नवराज लम्सालको स्वर सुन्छु, लाग्छ मेरा बुबाको आवाज पनि यस्तै थियो होला ।

आमाले भन्नुहुन्छ, सानामा मलाई बोकेर ज्याकेटभित्र लुकाएर हल्ला गर्नुहुन्थ्यो रे ल है छोरी हराई भन्दै । आमाले पीर मानेर खोज्न थालेपछि ज्याकेटभित्रबाट फुत्त निकालेर भुइँमा राखिदिनुहुन्थ्यो रे ।

कस्तो रमाइलो गर्नुपर्ने रहेछ मेरा बुबालाई । मैले पछिसम्म देख्न पाएको भए चिन्न पाएको भए म कति धेरै सम्झनाहरू सँगाल्थे होला बुबाको । मसँग त बुबालाई सम्झने केही छैन मात्र एउटा फोटो ।

मलाई कता कता याद आउँछ, कसैले उहाँलाई बोकेर लैजाँदै थियो, म पछिपछि रुँदै दौडिएको थिए । परसम्म पुगेपछि  कसैले मलाई फर्काएर ल्यायो । त्यो क्षण मैले सपनामा देखेँझै लागे पनि वास्तविक थियो रे । बाबालाई बिरामी भएर लगेपछि त्यसरी म पछिपछि कुदेकी थिएँ रे फेरि उहाँ फर्किएर घर कहिल्यै पनि आउनुभएन ।

म भने बाबा फर्केर आउनुहोला, फ्रक ल्याइदिनुहोला भन्दै कुरिरहेछु । बुबा नआएपछि आमाले पुरानो सिरकको खोलको फ्रक सिलाएर मलाई लगाइदिनुभएछ । तीन वर्षकी बच्ची म त्यो फ्रक बाबाले ल्याइदिएको भन्दै फुरुङ्ग परिछु । कठै बाबा गुमाएको सम्झनासम्म पनि नभएकी मलाई आमाले कसरी बुबाआमा दुवैको माया दिएर हुर्काउनुभयो होला ।

बुबाको सामीप्यता त थाहै भएन तर पनि हरेक पाइलामा मलाई उहाँको अभाव खड्किन्छ, सफलता असफलतामा धाप अनि उत्साहको कमी खड्किन्छ । जन्मपछि मृत्यु निश्चित छ, थाहा छ तर म त्यति सानै छँदा बुबा खोसेर लैजाने समयसँग पनि उत्तिकै गुनासो छ मेरो ।

पिताको छहारीको महत्व पिता नहुनेलाई जति कसलाई थाहा होला र । सन्तानका लागि पिता फाइटर हुन्, पिता ऊर्जावान हुन्छन् । उनैको ऊर्जाले सन्तानलाई अगाडि बढ्न प्रेरित गर्दछ र सन्तानको सफलताको पछाडि पिताको सङ्घर्ष अद्भूत हुन्छ । त्यही सङ्घर्षले सन्तानको सफलता मापन गरेको हुन्छ । तर सन्तानले त्यो सङ्घर्षलाई मनन् गर्न अनि त्यो त्यागलाई स्यालुट गर्न बिर्सियो भने सन्तान हुनुको के सार ।

केही समय अगाडि एउटा कलेजको प्रिन्सिपलसँग भेट भयो । कुरै कुरामा उनले भने, ‘हेर्नुस् पिता भगवान हुन्छन् उनलाई सन्तानले के खोजी रहेको छ र उसको भविष्य केमा निर्धारण छ छर्लङ्ग हुन्छ । मेरो कलेजमा एकजना गरिब पिता छोरोलाई भर्ना गर्न आए र भन्दै थिए, भर्ना गर्ने पैसा छैन । उनले पढ्न खोजेको कोर्सको १० लाख फी लाग्छ । मेरो छोरोलाई यो कलेजसम्म आइपुग्न एकदेखि डेढ घण्टा हिँड्नुपर्छ । उसँग बस चढ्ने २० रुपियाँ भाडा हुने छैन । न भर्ना गर्ने पैसा न त महिनावारी तिर्ने फिस नै । तर मेरो छोरोलाई उसले चाहेको विषय पढ्न दिनुस्, उसले प्रमाणित गर्ने छ कि ऊ कति जेहेनदार अनि क्षमतावान छ । सन्तानप्रतिको ती बाबुको दृढ विश्वास अनि त्याग देखेर प्रिन्सिपलले फुल स्कलरसिप दिने निर्णय गरे । आज ती विद्यार्थी कलेजका उदाहण बनेका छन् ।’ उनले यसो भनिरहँदा मैले कहिल्यै महसुस गर्न नपाएको मेरो बुबालाई वरिपरि खोजिरहेँ ।

पिताले सन्तानका लागि गरेको त्याग र सङ्घर्षको कुनै हिसाब हुँदैन । समाज आधुनिक बन्दै गएको छ, आमाबुबा  एक्लिँदै गएका छन् । कसैका छोराछोरी विदेशिएका छन् । कसैको सहर पसेका छन् ।

कुन आमाबाबुको चाहना हुँदैन आफ्नो सन्तान सधैँ आफ्नै वरिपरि हुन् । तर सन्तानको भविष्यको लागि जस्तोसुकै परिस्थितिसँग जुध्न सक्छन् ।

हामी बुबाआमालाई प्रत्यक्ष प्रेम, सम्मान, आदर अनि प्रशंसा गर्न लाज मान्छौँ । पक्कै पनि सन्तानलाई आफ्नो माता पिताप्रति उत्तिकै मान सम्मान र प्रेम हुन्छ । तर हामी खुलेर यसलाई प्रकट गरिरहेका हुँदैनौँ ।

सामाजिक सञ्जालहरूका कारण पनि आजकल यस्ता दिवसहरूमा छोराछोरीले सम्झना गर्ने प्रवृत्ति बढेको छ । कहिल्यै प्रेमभाव प्रकट नगर्ने सन्तानले पनि सञ्जालमार्फत प्रेम अनि सम्मान देखाउने अवसर पाएका छन् । हरेक पिता आफ्ना सन्तानबाट प्रसंशा सुन्न र प्रेम अनुभूत गर्न लालायित छन् । मैले त बुबालाई सानैमा गुमाएँ । तपाईंका बुबा नजिकै हुनुहुन्छ भने जानुस्, गएर बुबालाई माया गर्नुस् र भन्नुस् बुबा तपाईं हुनुहुन्छ र त म संसारकै भाग्यमानी हुँ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय