तीन वर्षअघि १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्दा भुपेन श्रेष्ठ भर्खर १९ वर्षका थिए । शारीरिक रुपमा सवल र प्राविधिक रुपमा चुस्त भुपेनलाई नेपाली तेक्वान्दोकै भविष्यका रुपमा हेरिएको थियो ।
प्रशिक्षण थालेको दुई वर्षमै अन्तर्राष्ट्रिय स्वर्ण जितेका उनी चार महिनाअघि विदेश पलायन भए । प्रशिक्षण र एक्स्पोजरमात्र होइन, तेक्वान्दो खेलेर सामाजिक रुपमा सुरक्षित महसुस हुने सम्भावना नदेखेपछि स्वर्ण पदक थन्क्याएर उनी अष्ट्रेलिया हानिएका हुन् ।
अन्तर्राष्ट्रिय स्वर्ण जितेपछि थप सुविधा र एक्स्पोजर पाउँछु जस्तो लागेको थियो,’ मेलवर्नबाट भुपेनले अनलाइनखबरसँग भने, ‘हामीले त नियमित प्रशिक्षण पनि गर्न पाएनौं । संघले हामीलाई अन्तर्राष्ट्रिय खेलाडीको जस्तो व्यवहार नै गरेन ।’
भुपेन मात्र होइन, १३औं सागमा पदक जितेका नेपालका ३४ मध्ये १३ जना तेक्वान्दो खेलाडी अहिले विदेशमा ‘मजदुरी’ गर्दैछन् । खेल करिअरकै दौरान विदेश पलायन भएका खेलाडीहरुको यो संख्याले अन्तर्राष्ट्रिय पदकको सम्भावना बोकेको नेपाली तेक्वान्दोमा आउँदै गरेको भयावह संकटलाई देखाउँछ ।