पुनाराम सुनारी पाल्पा, निस्दी आवाज युवा सञ्जाल निस्दी गाउँपालिका पाल्पाले मृगौला पीडित बादल रानाको उपचार तथा मृगौला प्रत्यारोपणको लागि झण्डै साढे १३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । निस्दी गाउँपालिका २ सुकेकोट निबासी १८ वर्षिय रानाको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरु बाट संकलन भएको १३ लाख ४९ हजार ७ सय ७० रुपैयाँ प्रदान गरेको हो । रानाको उपचार भने पाल्पामा भाइरहेको छ ।
दुवै मृगौला फेल भए पछि उपचारमा आर्थिक अभाव खड्किएको जानकारी पाए संगै निस्दी आवाज युवा सञ्जालले सामाजिक सञ्जालको माध्यम बाट ‘मृगौला पीडित बादल राना बचाऔं अभियान’ सुरु गरेको थियो । अभियान बाट संकलन भएको रकम सञ्जालले शनिबार निस्दी गाउँपालिकाको कार्यालय मित्यालमा कार्यक्रम गरी परिवारलाई प्रदान गरेको हो । सञ्जालमा आवद्ध युवा तथा सामाजिक व्यक्तिहरुको उपस्थितिमा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बादल रानाको बुवा भक्त बहादुर रानालाई रकम प्रदान गर्नु भएको थियो ।
रकम प्रदान गर्दै गाउँपालिका अध्यक्ष सारुले युवाहरुले सञ्चालन गरेको रचनात्मक कार्यको प्रशंसा गर्नुभयो । अप्ठ्यारो परिस्थितिमा युवाहरुले देखाएको सक्रियता उदाहरणीय रहेको भन्दै गाउँपालिका जनताको साथमा रहेको बताउनुभयो । सामाजिक सञ्जालको माध्यम बाट युवाहरुले जनप्रतिनिधि तथा गाउँपालिकालाई विकासको लागि दिएको दबाबले अझ अघि बढ्ने प्रेरणा प्रदान गरेको भन्दै आगामी दिनमा पनि सकारात्मक सुझाव र सल्लाह दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘याहाँहरुले विद्युत विस्तारमा भएको ढिला सुस्तीको बारेमा धेरै आवाजहरु उठान गर्नु भयो । हामीलाई पनि यस तर्फ थप सक्रिय गराई दिनुभयो । यसरी नै निस्दीको विकासमा सकारात्मक सुझाव प्रतिक्रिया दिएर सहयोग गरिदिनु होला ।’
कार्यक्रममा निस्दी आवाज युवा सञ्जालका अनुराग सुनारी मगरले पेशा र व्यवसायले आफ्नो जन्मथलो भन्दा बाहिर रहेपनि समग्र निस्दीबासीहरु गाउँको सुख, दुखमा सदा साथमा रहेको बताउनुभयो । अप्ठ्यारोमा ‘हामी संग संगै’ भन्ने नाराका साथ निस्दी आवाज युवा सञ्जाल अघि बढेको बताउनुभयो । उहाँले गाउँपालिकाको विकास र गाउँ ठाउँमा परेका अप्ठ्यारामा युवाहरु सदा संगसंगै रहने प्रतिवद्धता जनाउनुभयो । बादल रानाको अभियान संगै सञ्जालले निस्दी ५ का आश बहादुर सारुको उपचारको लागि पनि अभियान सञ्चालन गर्दै आईरहेको जानकारी गराउनुभयो । ‘मृगौला पीडित बादल राना बचाऔं अभियान’ का संयोजक खुम बहादुर रानाले अभियानमा निस्दीबासी संगै स्वदेश तथा विदेशमा रहेका हजारौं नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको सहभागीता जनाएको जानकारी गराउनुभयो । युवाहरु संगै सरोकारवालाहरुको सक्रियताले अभियानले सार्थकता प्राप्त गरेको बताउँदै रानाको उपचार सहयोगार्थ सञ्चालित अभियान संगै अन्य अभियानमा पनि सञ्जालमा रहने बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय