काठमाडौं- आयातित चिनीका कारण स्वदेशमा उत्पादित चिनी बिक्न छाडेपछि सरकारले चिनीको आयात रोक्ने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातित चिनी रोक्ने गृहकार्य अघि बढाएको छ। केही दिनभित्रै यसको निर्णय हुने मन्त्रालयको उच्च स्रोतको दाबी छ।
भारत र पाकिस्तानबाट ठूलो परिमाणमा सस्तो चिनी चिनी भित्रिएपछि अहिले स्वदेशी उद्योगले उत्पादन गरेका चिनी बिक्री हुन सकेको छैन। नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालका अनुसार गत सिजनमा उत्पादित करिब १ लाख मेट्रिक टन चिनी अझैसम्म बिक्री हुन सकेको छैन।
आयातित चिनीका कारण स्वदेशी चिनी बिक्री हुन नसकेको भन्दै उद्योगीहरूले लामो समय पहिलेदेखि आयात रोक्न माग गर्दै आएका छन्। उद्योगीको दबाबपछि गत बैसाखमा चिनी आयातमा साविकमा लाग्दै आएको भन्सार महसूललाई दोब्बर पु¥याइएको थियो। भन्सार महसूल बढाइए पनि चिनी बिक्री हुन नसकेको उद्योगीहरूको भनाइ छ।
चिनी नबिक्दा सयौं किसानको १०औं करोड रुपैयाँ भुक्तानी रोकिएपछि केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आयात रोक्न निर्देशन दिएका थिए। यद्यपि, यसको औपचारिक निर्णय भइसकेको छैन।
भन्सार विभागका सूचना अधिकारी शिव भण्डारीले आयात रोक्ने निर्देशन आइनसकेको बताए। तर, वाणिज्य मन्त्रालयका अधिकारीले भने चाँडै आयात रोक्ने निर्णय हुने बताए।
सरकारले आयात रोके पनि मौज्दात चिनी बिक्ने अवस्था नरहेको संघका अध्यक्ष अग्रवालले बताए। ‘अझै पनि बजारमा करिब १ लाख मेट्रिक टन आयातित चिनी रहेको हाम्रो अनुमान छ,’ उनले भने ‘आयात रोक्दामात्रै सबै चिनी बिक्ने अवस्था छैन, किनकी आगामी अढाई महिनापछि त नयाँ चिनी नै उत्पादन हुन्छ।’
सरकारले उद्योगीको चिनी किनिदिनुपर्ने उनको भनाइ छ। ‘सरकारले ५० हजार टन चिनी किन्दिए हाम्रो समस्या समाधान हुन्छ,’ उनल भने।