✍️ गम बयम्बु मगर

‘तँ स्त्रीलम्पट धोकेबाज ! मलाई यसरी रुवाउला भनेर जिन्दगीमा सोचकै थिइनं। तँ जस्तो केटा त मैले सालै पिच्छे फेरेर देखाउन सक्छु। तँ मेरो औकातको छैनस् भन्ने कुरा त मैले सुरु मै थाहा पाएको थिएँ। तँलाई प्रेम गरेर साथ दिनु नै मेरो ठुलो गल्ती भो।’

उनले सारा दोष मैमाथि थुपारेर रिसले चुर भएर मलाई तथानाम गाली गरेकी थिईन्। त्यो पनि सार्वजानिक रुपमै। त्यत्ति मात्रै नभएर नयाँ साल मनाउन पाल्पाको तानसेन श्रीनगरडाँडामा जम्मा भएका मान्छेहरूको त्यत्रो ठुलो जमघटमा। २०५८ सालको कुरा हो। उनलाई सम्झाउन मैले हर प्रयास गरेको थिएँ। तर उनले कहिल्यै मेरो मनको कुरा सुन्न चाहिनन्। उनकै जीत भयो। हरेक पटक म आफू हारेर औंसीको रात जस्तो अँध्यारो मुख लिएर फर्किन्थेँ। त्यो घटना पछि हरेक पटक म हाम्रो प्रेममा राम्रो संग जग सम्याउँछु भनेर ठुलो आशा लिएर जान्थेँ। मजाले जग बसाल्छु र हाम्रो प्रेमको घडेरीमा बिस्तार बिस्तार ईट्टाहरू थप्दै प्रेमको महल बनाउँछु भनेर उनको समीप पुग्ने प्रयास गर्थेँ। तर उनले न जग सम्याउनै दिईन्। न त ईट्टा राखेर जग बसाल्नै दिईन्। उनले जित्दै गईन्। मैले हार्दै गएँ। पटक पटक हारिरहेँ।

२०५७ साल देखि त्रिभुवन बहुमुखी क्याम्पस तानसनेमा पढ्न गएको थिएँ म। उनी गुल्मी खडगकोटबाट पढ्न आएकी तारा अस्लामी मगर। म पाल्पा अर्चलेबाट पढ्न गएको गम बयम्बु मगर। हामी तानसेन बजारको गल्ली नाप्न पुगेका थियौं। नारायण स्थान र तीन धाराको पानी र धारा संग मितेरी लाउन पुगेका थियौं। श्रीनगरको सौन्दर्य संग रमाउँदै लुकामारी खेल्ने शौभाग्य पाएका भाग्यमानी थियौं। त्यहीँ देखि नै उनको र मेरो नजरले नजर हान्ने सुअवसर मिलेको थियो। उनको र मेरो एउटै फ्याकल्टी। हामी दुबै जना नेपाली भाषा र साहित्य अध्ययन गर्ने विद्यार्थीहरू। त्यहीँ हुँदीदेखि उनको र मेरो प्रेम दुबो सरी मौलाएर झ्याङ्गिएको थियो। अहिलेको परिवेशमा भन्नु पर्दा हाम्रो प्रेम वनमारा सरी मौलाएको थियो। फैलिएको थियो। उनले मलाई औधी माया गर्थीन्। मैले उनलाई आफ्नै मुटु बढी मानेर प्रेम गर्थेँ। दिलमा सजाएको थिएँ। हामीले एकापासमा हरेक चिज समर्पण गरिसकेका थियौं। उनी मेरो समीप आएदेखि मेरो मन उज्यालो भएको थियो। जसरी रातमा ताराहरू चम्किन्छन्। मेरो नजरमा हरेक पल उनै मेरी तारा चम्किरहेकी पाउँथेँ। मेरो सपनाहरू चम्किएको थियो। जसरी रातमा ताराहरू चम्किन्छन्।

साँचो प्रेममा पनि शंका हुँदोरहेछ सायद! तर शंकालाई हद भन्दा बढी लिएर मन जलाउन थाल्यो भने साँच्चै प्रेम या प्यारलाई जलाउँदो रहेछ। जसरी शंकाले लङ्का जलाउँछ भन्छन्। मलाई लाग्छ भएको त्यही थियो। तर उनले मलाई बुझ्न चाहिनन्। उनले कहिल्यै पनि हार्न जानिनन्। मेरो गुनासो, मेरो मनको दुखेसो सुन्नै चाहिनन्। उनी त्यसरी रिसाउनुको कारण। म बाट टाढिने निर्णयमा पुग्नुको कारण नै शंका थियो। नत्र मैले त्यसरी हाम्रो प्रेमको अन्त्य हुने खालको कार्य गरेको कहाँ थिएँ र ! म अहिले पनि निर्धक्कले भन्न सक्छु, मबाट गलत नियतले त्यो कार्य भएको थिएन। वास्तवमा भएको चाहि यस्तो थियो।

५७ सालको चैत्र महिनाको अन्त्यतिर नारायणस्थान नजिकैको किराना पसलबाट तरकारी लिएर मेहलधारा रुमतिर जाने क्रममा संगै पढेकी स्याङ्गजा बिर्घाकी रमा थापा मगर संग बोल्दै गएको उनले देखिकी रहेछिन्। त्यही दिन देखि उनी मसंग बिच्कि रहेकी थिईन्। र पनि मैले निकै पटक सम्झाउँदा बल्ल उनलाई रिझाएको थिएँ। बल्ल तल्ल उनलाई खुसी बनाएर मेरो मन पनि पानी परे पछिको आकाश खुले झैँ भएको थियो। छ्याङ्ग। यति भएपछि पहिरो जान लाएको हाम्रो प्रेमलाई पहिरोबाट जोगाएँ भनेर बालखलाई आमाले दूध खुवाउन लाग्दा बालख रमाउदा जस्तै मेरो मन रमाएको थियो। त्यही खुसीले नयाँ सालमा श्रीनगरडाँडामा नयाँ साल मनाउन जान मेरै आग्रह र अनुरोधमा २०५८ सालको बैशाख एक गते बिहान देखि हामीले तयारी गरेका थियौं।’मैले कुन रङ्गको,कस्तो कपडा लगाएर जाने त गबम ?’ उनले आफुले लगाउने कपडा समेत मेरो रोजाईमा लाउँछु भनेर सोधेकी थिईन्। उनले मायाले मेरो पूरा नामको एकएक शब्दको पहिलो अक्षरको अगाडिको एकएक अक्षरलाई जोडेर ‘गम बयम्बु मगर’ को छोटो रुपमा “गबम” भनेर प्रेम पुर्वक बोलाउँथिन्। मैले उनको नामलाई मगर भाषामा उल्थाएर ‘टुगा’ भनेर बोलाउँथेँ। उनको रुप। मुहार रातको तारा जस्तै चम्किलो थियो पनि। उनी धनीकी छोरी कपडाको रास थियो। फेरी फेरी लगाउन पुग्ने थियो। लगाउँथिन् पनि। मैले तारालाई सुहाउने रङ्गको कुर्ता लगाउनलाई सुझाएको थिएँ। उनले मेरो रोजाईलाई स्वीकार्दै उहीँ कपडा पनि लगाकी हुन्। त्यो पहिरनमा उनलाई देख्दा तारा साँच्चीकैकी तारा जस्तै देखिएकी थिईन्। बिहानै केही खाने कुरा रुमबाटै पकाएर तयार पारेको थिएँ। उनले पनि चिकन बनाएएकी थिईन्। आलु उसिनेर मुलाको चना र मटर मिसाएर तोरीको दाना भुटेर, तोरीकै तेलले झानेर हरियो खुर्साली हालेर सुन्दै पनि आहा! लागेर मुख रसाउने ट्वाक्का लाग्ने अचार बनाएकि थिईन्। पिउने केही चिसो र भुजा,चिउरा,चिप्स किनेर लगेका थियौं। बिहान एघार बजेतिर श्रीनगरतिर प्रस्थान गरियो। मेरो रोजाईको लवाईमा उनी चटक्क देखिईकी थिई। मिलेको जिउडामा टपक्कको कपडा, ज्यानलाई सुहाउँदो थियो। खुट्टाको कुर्कुच्चा मुनि केही औंला जति उठेको हिलवाला स्यान्डिल लगाएकी। शिरमा लहराउँदो रेशमी केश। उनको शिरको शिरनमा चुरो बाँटेकी र कम्मर सम्म पुग्ने सिल्की केश लहरीले उनको रुपलाई अरु आकर्षक पारेको थियो। उकालो बाटोमा जाँदा उनको स्यान्डिलले अप्ठ्यारो भएर भनेकी थिईन्- ‘गबम मलाई तानी देऊ न।’ र मैले माथिबाट हात दिएर उनलाई तानिदिएको थिएँ। उनी मेरो समीपमा आएर पुरै शरीर मेरै छातीमा टाँसेर चप्किएकी थिईन्। जसरी फलम र चुम्बक टाँसिन्छन्।

हामी माथि डाँडामा पुग्दा वरिपारी मान्छेहरूको भिड थियो। गर्मी समय। रूखका फेँड फेँडमा। जहाँ छहरी छहरीमा। खुल्ला चाउरमा सबै जसो मान्छेले भरिएका थिए। हामी संगै अरु सात आठ जना संगै जाँदै थियौं। तारा र मैले हात समाएर श्रीनगरमा टुपुल्किँदा रामपुरको साथी विजय रानाले दायाँ हातको चोर औंला र बुढी औंला छुवाएर, अरू तीन औंला उठाएर जोडी अति सुहाएमो छ भनेर ईशारा गरेको थियो। अहिले पनि विजय राना संग कुरा भयो कि तारा संगको त्यही पल आँखामा झलक्क आईपुग्छ। नयाँ वर्ष मनाउन जानेहरू कुनै गीत बजाउँदै नाच्दै देखिन्थे। कसैले स्टेज बनाएर गीत गाउँदै थिए। छेउतिर नाच्दै पनि थिए। कसैले खादै थिए। साथमा क्यामेरा हुनेहरूले तस्बिर खिचाउँदै पनि थिए। हामी पनि साथमा लगेको खानाहरू खाँदै गीत बजाउँदै रमाउन थाल्यौं। पालै पोलो नाच्न थाल्यौं। जोडीमा नाच्न थालेका थियौं। एकले अर्कोलाई ‘लौ तिमीहरू नाच त ल भनेर उक्साउथ्यौं।’ त्यसरी नाच्न निस्किँदा तारा पनि मुसुहसु हाँसिरहेकी थिईन्। एकचरण तारा म संगै नाच्यौं। ताराले थकाई लाग्यो भनेर नाच्न बिसाईन्। दोस्रो अर्को चरणमा स्याङ्गजाली रमा र मेरो संगै नाच्ने जोडी बन्यो। भगवान भण्डारीको लोक दोहोरी गीत “खैरेनीमा गेट…. अन्तै दिल बस्यौ कि निरमायाँ हुनै छाड्यो भेट…..” मा नाचेका थियौं। रमाईलो जोशाजोश नाचमा गल्तीले मेरो हात गीतको भाव अनुसार रमाको काँध माथि पर्न गएछ। रमा लाजले भुतुक्कै भईन्। नाच्न बिसाईन्। त्यो दृश्य ताराले निकै गहिरिएर नियाली रहेकी रहेछिन्। त्यो क्रियाकलाप उनको लागि असह्य भएछ। उनी रिसले चुर भएकी रहेछिन्। हाँसिरहेकी उनी एकै चोटी राती पिरी देखिईन्। उनको आँखाबाट आँसुको मोतीका दानाहरू बररर…… खस्न थाल्यो। म नाच्दा नाच्दै टक्क रोकिएँ। उनको समीपमा गएर कारण बुझ्न लागेँ। उनी रिसले आगो बनिन्। उनको त्यो रिसको आगोले उतिबेलै हामी दुबैलाई पोलेको हो। त्यत्तिमा सिमीत नरहेर अन्तत: हाम्रो सुन्दर प्रेमलाई खरानी बनाएरै छाड्यो। त्यत्रो समाजको अगाडि मलाई भन्नु सम्म भनेकी थिईन् यसरी –

‘तँ स्त्रीलम्पट धोकेबाज ! मलाई यसरी रुवाउला भनेर जिन्दगीमा सोचकै थिइनं। तँ जस्तो केटा त मैले सालै पिच्छे फेरेर देखाउन सक्छु। तँ मेरो औकातको छैनस् भन्ने कुरा त मैले सुरु मै थाहा पाएको थिएँ। तँलाई प्रेम गरेर साथ दिनु नै मेरो ठुलो गल्ती भो।’

र मैले उ नको वचनलाई सामान्य लिएर पटक पटक हारेरै भएपनि उनलाई जिताउँछु र तारालाई मेरो बनाउछु भन्ने अठोटका साथ निकै धाएँ। शंकै शंकाले म संग दूर हुने चाहत लिएर उनी क्याम्पसकै पढाइ हापेर केही महिना गुल्मी गएर बसिन्। पछि तानसेन फर्केर पनि धेरै पटक उनकै रुममा गएर रिझाउने प्रयास नगरेको हैन। मबाट नसकेपछि रामपुरको विजय रानालाई मेरो दूत बनाएर पनि पठाएँ। तर अहँ… ! उनको रिस बीसको उन्नाईस भएन। उनी मेरो जिन्दगीबाट घाम अस्ताए जस्तै गरि अस्ताउँदै जान थालिन्। र पनि मैले मनमा आशा बोक्थेँ बिहानी मिर्मिरेमा घाम उदाए झैँ हाम्रो प्रेमको शुरुआत होस्। हाम्रो प्रेममा मिर्मिरे आओस्। प्रेम पुन: फलाएर आओस्। तर किमर्थ; त्यो मेरो निजी चाहना मात्र भयो। अभिलासा मात्र बन्यो। समय बित्दै गयो। उनी मबाट दूर हुँदै गईन्। बग्दै गएको पानी उल्टो फर्केर आउन नजाने जस्तै उनी मतिर फर्किन कहिल्यै जानिनन्। क्याम्पसको पढाई माथिल्तो लेभलतिर चढ्दै जान थाल्यो। तारा र गबमको प्रेम उँधोतिर लेभल घट्दै गयो। व्याचलरको पढाई सक्याएपछि उनी अरु थप अध्ययनको लागि राजधानीतिर हानिईन् भन्ने उनको साथीहरूबाट खबर पाएको थिएँ। म आर्थिक रुपले कमजोर लुरे भएर रन्थानिएको बबुरो। उनको खोजी गर्दै राजधानीतिर हानिन पनि कहाँ सकेँ र ! त्यसपछि भने हामी साँच्चीकै एक जना पृथ्वीको उत्तर गोलार्द्ध र अर्को दक्षिण गोलार्द्धमा भएका थियौं। र उनी उदाउँदा म अस्ताउने, म उदाउँदा उनी अस्ताउने अवस्था आयो। यसरी तारा र मेरो प्रेम कहानी, कहानी मै सिमीत रह्यो।

करिव, सत्र वर्ष पछि केही महिना अघि खडगकोटका अनन्य मित्र धनु थापा मगर संग बुटवलमा अनपेक्षित भेट भएको थियो। उसले दिएको जानकारी अनुसार तारा थापा मगर साँच्चीकै तारा बनेर चम्किएकी त थाहा पाएँ। तर उनी दुष्कर्म र कुकृत्य गरेर समाजमा चम्किएको सुन्नु पर्यो। उनी राजधानीमा कल गर्ल बनेर चम्किएको खबर थियो। प्रेम त प्रेम नै रहेछ। चाहे मिलन होस् या बिछोड। तर आफुले मन पराएको मान्छेको बारेमा दु:खको कुरा सुन्नु पर्दा मन दुख्दो रहेछ। दु:ख लाग्दो रहेछ। उनले सारा जनमानसको अगाडि मलाई चुनौति दिएर खुलेआम भनेकी थिईन्- ‘तँ जस्तो केटा त मैले सालै पिच्छे फेरेर देखाउन सक्छु।’ तर वास्तविक जीवनमै उनले केटाहरू फेरिरहेको सुन्न पर्दा मेरो यो कानले किन सुन्न सक्ने भए होला भन्न पुगेँ। मान्छेको जिन्दगी सोंचेको झैँ सबैलाई कहाँ हुँदोरहेछ र !

उनको नजरमा म उनी संग तुलना गर्न मिल्ने औकातको नभए पनि मेरो थोत्रो जिन्दगीलाई मर्मत गर्दै ड्यामेज हुन बाट जोगाउँदै आईरहेको छु। बिग्रिन खोज्छ र ठाकठुक पारेर पिटपाट पारेर चल्ने बनाउछु। बिग्रिनलागेको पुरानो रेडियोलाई जस्तै पुन: बज्ने बनाउँछु। यसरी नै चलिरहेको छ। बजिरहेको छ मेरो जिन्दगी जेनतेनले।

उनी त औकातिलो मान्छे। रङ्गिन होला उनको जिन्दगी। चम्किरहेको हुनु पर्छ जीवन। नाम पनि तारा। काम पनि तारा जस्तै चम्किलो हुँदो हो। हरेक बैशाख एक गते नयाँ साल आईपुग्छ। र मलाई भने विगतको स्मृतिले धकेलेर २०५८ तिरै पुर्याई दिन्छ। बैशाख एक गते नयाँ सालको नयाँ दिन नभएर पुरानो दिनले सताउने गर्छ मलाई। यस्तै रहेछ जिन्दगी केही विगत, केही वर्तमान र केही भविष्य को स्मृतिहरू मिसाएर घुटुघुटु पिईरहनु पर्ने। दु:खम- सुखम जिईरहनु पर्ने। यही प्रक्रियाहरू पार गर्दै कुन दिन निभ्ने हो हेर्दै गर्नु होला।

अस्तु

२०७८/०१/०१ गते

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय