
- गम बयम्बु मगर
बिम्बा तामाङ एक रूपवती नारी । चट्ट मिलेको उसको
जिउडाल नै सबैको आकर्षण बनेको थियो । सानो छँदै सबैले उसको रुपको खुलेर प्रशंसा गर्थे । किशोर अवस्था मा टेके पछि उसको मुहारमा आएको चमक र शारीरिक विकासको बनावटले झनै जो कोही लाई लोभ्याएको थियो ।
सिन्धुपलाञ्चोकको एक विकट गाउँमा जन्मेकी थिइन् । घरको नजिकै रहेको स्कुलमा पढ्दै गर्दा संगै पढ्ने ध्रुव पौडेल सित अज्जानमै प्रेम पलाएछ । उनीहरुको प्रेम झ्याङ्गिन थाल्यो । एक अर्का बिना अब बाँच्न नसक्ने अवस्थामा पुगे । विवाह गर्न लाई घरबाट सहमति नहुने पक्का थियो । बिम्बा तामाङकी छोरी, ध्रुव क्षत्रीको छोरो । समाजमा जात भातको कुरा छँदै थियो । नौ कक्षामा पढ्दै गर्दा उनीहरु भागेर काठमाण्डौ पुगे ।
काठमाण्डौ नयाँ ठाउँ । के गर्ने ? कहाँ बस्ने ? कसरी पेट पाल्ने ? निकै अप्ठ्याराका दिनहरु गुजारे । खाने कुरा को अभाव धेरै भोगे । जति दु:ख परे पनि ध्रुवले बिम्बा लाई मायाँमा कमी हुन दिएको थिएन । होटेलमा संगै काम गर्न थाले । ध्रुवले खाना बनाउने बिम्बाले सरसफाई गर्ने काम । करिब पाँच वर्ष संगै रहँदा बिम्बाको पेटमा गर्भ बस्यो । छोरी जन्माइन् । छोरीको नाम सपना राखे । बिम्बा काममा जान नसक्ने भइन् । दूधे बच्चा भएकोले रुम मै बस्न थालिन् । त्यस पछि ध्रुवको बानी व्यवहार दिन दिनै फेरिन थाल्यो । समयमा रुम नपुग्ने । झर्केर मात्रै बोल्ने । गाली गर्ने र थर्काउने गर्न थाले । पछि थाहा पाइन् त्यही होटलको रिसेप्सनमा काम गर्ने दाङ्गकी केटी सित ध्रुवको प्रेम मौलाउँदै थियो । त्यो कुरा बिम्बालाई असह्या भयो । एक दिन काखमा छोरीलाई च्यापेर होटेल मै पुगिन् । कपाल लुछ्न खोजेकी थिइन् । तर ध्रुवले छेके । तेरो बुढालाई तह लाउन सक्दैनस् । किन मलाई दोष लाउछेस् भनेर उल्टै बिम्बा माथि खनिइन् । त्यो दिन देखि ध्रुव पनि रुममा आउनै छोडे । धेरै दिन रुममा फर्केन । बिम्बाले खोज्दै होटेलमा सोध्न पुगिन् । उनीहरु होटेलको जागिरै छोडेर दुबै जना त्यहाँ बाट हिडेको थाहा पाइन् । मलाई हेला गरे पनि छोरीको मायाँले फर्केर आउनु होला भनेर कुरेकी थिइन् । तर ध्रुव फर्केनन् । काखमा नाबालिका छोरी थिइन । खाना पिउन केही थिएन । रुम भाडा कसरी तिर्ने ? के खाएर बस्ने ? निकै दु:खको दिन शुरु भयो । मरूँ कि बाँचूँ को दिन आयो । तर छोरीको मुख देखेर बिम्बाले ज्यान फाल्न सकेन । मर्नु भन्दा बौलाउनु वेस सोंचेर छोरीलाई काखमा च्यापेर सडकमा माग्दै हिड्न थालिन् । उसको रुप देखेर स्वार्थ पूरा गर्न मौका छोप्ने हरु पछि परेका थिए । तर जति दु:ख पाए पनि गलत काम गर्न कहिल्यै सोंचिनन् । छोरी बढ्दै जाँदा अर्को चिन्ताले सतायो फेरि । पढाउने उमेर हुन्छ । यसरी मागेर मात्र कति दिन चल्छ ? बरु छोरीलाई माईती मा हजुरआमा सित राखेर कुनै काम गर्छु भन्ने सोंच पलायो । माईती तिरको मान्छे खोज्दै महिनौ बित्यो ।
एक दिन बस स्टापमा यात्रुहरु सित माग्दै गर्दा गाउँ कै एक जना आफन्तको अगाडि हात थाप्न पुगि छन् । गाउँ को आफन्तले चिन्यो उसलाई । बल्ल माईतीतिरको फोन नम्बर पाइन् । आमा सित धेरै वर्ष पछि बोल्ने मौका जुर्यो । उसकी आमा धुरुधुरु रोइन् । बिम्बाले पनि रुँदै आफ्नो व्यथा जस्ताको जस्तै सुनाइन् । सन्तानको मायाँ आमा लाई कहिले पनि कम नहुने रहेछ । उसले माईती त्यागेर भागे पनि आमाको मायाँ उस्तै । तुरुन्त घर फर्केर आऊ । जे छ त्यही खाएर बसौंला । म हुँदा सम्म जसले जे भने पनि तिमीले धन्दा मान्नु पर्दैन । आमाको आग्रह थियो । पर्सी पल्ट नै काठमाण्डौ छोडेर सिन्धुपलाञ्चोक जाने बसमा चढिन् । साँझ घर पुगिन् । बुढी भएकी आमाको न्यानो काखमा बसेर धेरै रोइन् । आमाको मायाँले सबै छुट दियो । जे उसले गल्ती गरेकी थिइन् । केही साल फेरि माईतीघर मै रमाइन् ।
उसको दाजु र भाउजु भएर घ्रुवको घर सम्म पुगेर खोजी नीति गरे । ध्रुव धेरै समय देखि घर परिवार सित सम्पर्क मा नरहेको थाहा पाए । उसलाई कुरेर कति दिन बस्ने ? फर्केर आए पनि अर्कै युवती संग हिडेको मान्छे । घरमा फर्के पनि मैले उसको साथ पाउँदिन भन्ने टुङ्गोमा पुगिन् ।
कति दिन माईतीघरमा बसेर जीवन कटाउनु । आमालाई पनि सजिलो कहाँ थियो र ? गाउँ मै बसे पनि हरेक कुरा महङ्गी । खेतीपाती गर्ने जाँगर हराएका । खेतबारी बाँझो । बरु महङ्गो मै किनेर खाने बानी परेको गाउँले लाई पनि । छोरी हुर्किँदै गई । अब यतिकै बसेर हुँदैन । छोरी को भविष्य लाई सोंच्नु पर्छ । कहाँ के काम गरुँ त ? बाटो खोज्दै थिइन् । एक जना दलाली घर मै आएर विदेशमा कमाउन सक्ने अवसरको कुरा र विदेशको सपनाहरु देखाउन थाले । आधा ऋण म आफैँ खोजी दिन्छु । मेरो विश्वासमा जानू भनेर फकाए पछि विदेशिने योजना बनाइन् । त्यहाँ देखि शुरु भयो बिम्बाको परदेशी जीवन ।उनी सोंच्दै नसोंचेको ठाउँ कुवेत पुगिन् ।
००००
सपनाले मावलीमा बसेर स्कुल पढन थालिन् । तर बाबा र आमा दुबै जना भएर पनि टुहुरी जस्ती भइन् । बाबा बेपत्ता भएर ! आमा विदेशिएर ! छोरी कै चिन्ताले ज्यान खान्थ्यो बिम्बाको । उसले काम गर्ने कुवेती साहुको पनि उसकै छोरीको उमेरकी सालिमा नामकी छोरी थिई । उसलाई हेरचाह गर्नु पर्थ्यो ।
धनी साहुकी छोरी सालिमा जिद्धिवाली थिई । स्कुल जाँदा बाहेक विहान देखि राती सम्म उसकै साथ हुन्थी । खाना खुवाउँदा सालिमाको अनुहारमा हेर्थिन् । सालिमा को अनुहार मा आफ्नै छोरी सपनाको मुखाकृति आएर टक्क रोकिएको देख्थिन् । आफूतिर हेरेर मुसुक्क हाँसेकी देख्थिइन् । बिम्बा टोलाउँथिन् । सालिमाले उसको हातमा समाएर तान्दा झस्किन्थिन् । सपनाको मुखाकृति त्यही विलिन हुन्थ्यो । सालिमाले गुडिया खेलाएको देख्दा सपना नै खेल्दै देख्थिन् । सपिङ्ग महलमा गएर सालिमाले गुडिया किन्दा । मेरी छोरी, त्यसरी महल जान कहाँ पाएकी छे र ? कसलाई भनेर गुडिया रोज्छे ? मन खेलाउँथिन् । सालिमाको स्याहार सुसार गर्दा, मेरी छोरीले यस्तै स्याहार पाएकी छे त ? सोंच्थिन् । साहुहरु कतै पाटीमा गएर आधा रात सम्म नफर्किँदा सालिमा आमा खोज्दै रुन्थी । त्यो रुवाईले बिम्बालाई आफ्नै छोरीको झलझाली याद दिलाउँथ्यो । मेरी छोरी पनि मलाई खोजेर कति रुँदी हुन् । आमा….! बाबा…! भनेर एक्लै एक्लै । यस्तै सोंच्थिन् । मन धुरुक्क पार्थिन् । रुन्न भन्थिन् । आँखाको पानी बर्सिन थाल्थ्यो । पैसाले गर्दो रहेछ सबै । आफ्नै सन्तानको हेरचाह गर्न नसक्नेले- अर्काको सन्तानलाई सुसार गरिरहनु पर्ने । आफ्नै सन्तान भोको होला- अर्कैको सन्तानलाई फकाई फकाई खुवाई रहनु पर्ने । मान्छेको जिन्दगी पनि बुझ्नै नसकिने ! यस्तै सोंचेर टोलाउँथिन् । शुरुको समय निकै पीडादयी भएर विताएकी थिइन् उसले ।
सपनाले कहिले कही मुटु चस्काउने प्रश्न सोध्थिन् फोनमा । बिम्बाको मनमा निकै गहिरो चोट बस्ने गरि बिझ्थ्यो । गल्ती त मैले गरेको हुँ । तर छोरीले दु:ख पाउँदैछिन् भनेर मन रुवाउँथिन् ।
प्राय सोध्ने प्रश्न- ‘आमा, कहिले आउनु हुन्छ ?’
‘आमा, मलाई के ल्याई दिनु हुन्छ नी ?’
एक दिन सोधिकी थिइन् – ‘आमा, बाबा पनि हजुर संगै हुनुहुन्छ हो ?’
उसको सोधाईले मनमा चसक्क घोंचेको थियो । उसलाई के जवाफ दिएर चित्त बुझाउने ? उसले बाबा लाई चिन्न नपाउँदै बाबा बेपत्ता भए । कसरी विश्वास दिलाउने ? निकै अन्योलमा परिन् ।
आफ्नै जिन्दगी सम्झेर ग्लानि हुन्थ्यो । म कति पापी आमा परेँ । जन्म दिएर मायाँ दिन नसक्ने कस्ती आमा म ? म बिना छोरी खुशी छे त ? अभिभावकको प्यार नपाएकी बच्ची कस्तो संस्कारकी बन्लिन् ? मेरी छोरीको बालापन बाबा आमाको साथ बिना नै वित्ने हुन् त ? प्रश्नै प्रश्नहरु को भिड लाग्थ्यो उसको दिमागमा । कहिले कही धेरै सोंचेर ज्यान परदेशमा भए पनि ध्यान घर परिवारमा हुँदा- तातो पानीले हात पोल्दा। छुराले औँला काट्दा। पकाएको तरकारी डढेर गन्हाउदा झसङ्ग हुन्थिन ।
साहुको गाली धेरै खाइन् । घर परिवारलाई सम्झेर आफ्नै मन तड्पाइन् । गाउँ मा दलालीले देखाएको सपना जस्तो कहाँ थियो र विदेशमा । सुनेको र सोंचेको भन्दा धेरै फरक । तर पनि बाध्यताले त्यसैमा चित्त बुझाउनु पर्ने थियो । जति दु:ख परे पनि संकल्प गरेकी थिइन् । जब सम्म छोरीको पढाई पूरा गरेर आफ्नै खुट्टामा उभिन सक्ने बनाउदिनँ तब सम्म सुख दु:ख गर्ने छु । छोरीको भविष्य बनाउने मेरो आफ्नै सपना हो ।
बिम्बालाई फेरि अर्को बज्रपात पर्यो । माईतीमा आमाको मृत्यु भयो। जसले सपनाको स्याहार सुसारमा सहयोग गरेकी थिइन् । त्यस पछि सपनालाई हेर्न मामा र माइजू बाहेक अरु भएन । तर मामाले बाबुको रुपमा र माईजूले आमाको रुपमा मायाँ दिएर सपनाको पढाईमा सहयोग गरिरहे । सपनाको पढाई अब्बल थियो । एसएलसीमा प्रथम श्रेणीमा पास गरिन् । उसले अनमी विषय लिएर पढ्नको लागि छात्रवृति पाइन् । काठमाण्डौमा बसेर अनमी पढ्न थालिन् । बिम्बालाई त्यो भन्दा अरु खुशी के हुन सक्थ्यो र !
००००
सपनाले एउटा अस्पिटालमा ओजेटी गरिरहेकी थिइन् । उसको तालिम चलिरहेको थियो । हस्पिटालमा एक जना बिरामीलाई ए पोजेटिभ रगतको खाँचो रहेको कुरा सुनिन् । कतैबाट रगत नपाए पछि सपनाले म दिन्छु रगत । मेरो छ ए पोजेटिभ भनेर डाक्टरलाई बताइन् । ढुङ्गा खोज्दा देवता मिलेको भने झैँ अचानक कसैले रगत दिन तयार हुँदा बिरामी कुर्न आउने मान्छेले सपनाको खुट्टामा ढोगे । बिरामीलाई सपनाले रगत दिइन् ।
उसले लगाएको गुन देखेर बिरामीले सपनालाई भेट्ने इच्छा गरे । सपना बिरामीलाई भेट्न गइन् । बिरामीले उसको गुनगान गरे । सपनाले बिरामीको नाम सोधिन् । मेरो नाम ध्रुव पौडेल हो । मेरो बाबाको जस्तै नाम रहेछ भनिन् सपनाले । नानीको नाम ? सपना तामाङ । घर कहाँ ? काभ्रेपलाञ्चोक…। मेरो पनि त्यही जिल्ला हो । नजिकिएर बोले । नानीको बाबाले के गर्नु हुन्छ ? मलाई बाबाको बारे केही थाहा छैन । म यही काठमाण्डौमा जन्मेकी रहेछु । म जन्मिए पछि बाबाले आमा र मलाई छोडेर जानु भएछ । बाबालाई चिन्नै पाइनँ । आमाले मावलीमा राखेर दु:ख गरी हुर्काउनु भएछ । सपनाले बाल्य काल सुनाइन् । नानीकी आमाको नाम के होला ? बिम्बा तामाङ् हो । उसको जवाफ सुनेर बिरामीले सपनाको मुखमा हेराहेर गरे । नानीको मावली …….. गाउँ मा हो ? हजुरआमाको नाम …….. तामाङ हो ? मामाको नाम ……. तामाङ हो ? त्यहाँ ………. नामको स्कुल छ हो ? सोधेका जति सबै कुरा मिल्यो । सपना छक्क पर्दै हो भनिन् । अनि बिरामीले भने- ‘तिम्रो बाबा मै हुँ छोरी ।’ मलाई माफ गरि देउ । तिमीहरुलाई दु:ख दिने पापी मान्छे मै हुँ ! मलाई विश्वास गर नानू । सबै कुरा मिले पछि सपनाले विश्वास गरिन् । बाबा, किन हामीलाई छोडेर जानू भएको ? हाम्रो मायाँ लागेन ? सपनाले आँसु पुछ्दै सोधिन् । मान्छेको मति बिग्रे पछि यस्तै हुँदो रहेछ छोरी ! आँसु खसाल्दै बोले । सपनाको आँसु पुछि दिए । दैव संयोग ! सपनाले रगत दिएको बिरामी उसकै बाबा रहेछ । खुशीले दुबै जनाको आँखाबाट आँसु बग्यो । सपना बाबाको काखमा टाँसिन गइन् । पहिलो पटक बाबाको वात्सल्य पाएको महसुश गरिन् । फोन नम्बर र बस्ने ठाउँ सोधेर फुर्सदमा भेट्ने सल्लाह गरे । अनि सपनाले बाबासंग भेट गर्न थालिन् । आमा र उसलाई छोडेर जाँदा संगै लिएर हिडेकी केटीले पनि छोडिसकेकी रहेछन् । त्यस पछि उसको बाबाले जति कमायो सबै जाँड रक्सी पिएर उडाउँदो रहेछ । त्यसले गर्दा बाबाको स्वास्थ्यमा खराबी आएको रहेछ । अत्याधिक जाँड, रक्सी र धुम्रपान सेवन का कारण मुटु र कलेजोमा सिरोसिस भएको थियो । बाबालाई भेटेको कुराहरु सपनाले आमालाई सुनाइन । गोप्यमै राखिन् ।
बिम्बा छुट्टीमा आउँदै थिइन् । उसको जन्म दिन नजिकै आईरहेको सपनाले फेसबुकबाट थाहा पाएकी थिइन् । बिम्बालाई भने जन्म दिनको वास्तै थिएन । आमाको अगाडि बाबालाई देखाएर जन्म दिनको सरप्राईज गर्ने योजना बनाएकी थिइन् सपनाले । त्यही भएर बाबालाई भेटेको कुरा गुपचुप राखेकी थिइन् । बाबालाई त्यही अनुसार गरि दिन भनेकी थिइन् । बिम्बा दुई महिनाको लागि छुट्टीमा कुवेतबाट नेपाल फर्किन् । दुई चार दिन काठमाण्डौ मै बस्नु आमा भनेर फकाईन् । छोरीको चाहनामा नाई नस्ती गरिनन् । हुन्छ भनि दिइन् ।
माघ दस गते शनिबारको दिन थियो । सपनाको छुट्टीको दिन । विहानै देखि उसले साथीहरु सित फोनमा कुरा गरेको सुनेकी थिइन् आमाले । आफ्नै कामको कुरा होला भनेर बसिन् । दस बजे तिर साथीको रुममा जाउँ आमा भनेर लिएर गइन । साथीकोमा पुग्दा झिलीमिली सजाएको थियो । केही कार्यक्रम होला सोंचेर बसिन् । एक एक गर्दै मान्छेहरु भरिन थाले । रमाईलोको रौनक बढ्दो थियो । टेवलमा एउटा केक को डिब्बा थियो । चारैतिर सबैले घेरेका थिए । अन्टी कति उभिनु हुन्छ र बस्नुस् । सपनाको साथीले भनिन् । ठिकै छ नानी । आमा बोलिन् । यो कुर्चीमा बस्नुस् अन्टी । अर्की ले भनिन् । तिमीहरुले यस्तै भन्छौ त ठिकै छ नि भनेर आमा केक राखेको टेवल नजिकैको कुर्चीमा बसिन् । आमा त्यो डिब्बामा के रहेछ खोल्नुस् न । सपना बोलिन् । अर्काको सामान किन चलाउने भनेर सपनातिर हेरिन् । खोल्नुस् न अन्टी के रहेछ । फेरि अर्कोले बोले । बिम्बा छक्क परिन् । के गर्न लाएका छन यिनीहरु ? मन मनै सोधिन् । एक पछि अर्कोकोले खोल्न भन्दै गए पछि यिनीहरुको कुरा किन अटेरी गर्नु भनेर डिब्बा बिस्तारै खोलिन् । – “जन्म दिनको शुभकामना आमा !”
बिम्बा तामाङ प्लास ध्रुव पौडेल । सपनाको तर्फबाट..! लेखेको देखिन् । ती अक्षर देखेर बिम्बालाई विश्वास गर्नै गाह्रो भयो । उनी अलमलमा परिन् । मैनबत्ती र सलाई दिए । त्यहाँ उसकै जन्म दिन मनाउँदै थियो । मैनबत्ती जलाउन लगाए । केक काट्न पठाए । हेप्पी बार्थ डे टु यु…… हेप्पी बार्थ डे टु यु…! सबैले एकै स्वरमा गाउन थाले । आमाले सपनालाई धन्यवाद छ मेरी छोरी भनिन् । सपना नजिकै आएर आमाको दुबै आँखा छोपी दिइन् । जन्म दिनको शुभकामना बिम्बा….! कुनै पुरुष पात्रको एक्लो आवाज गञ्जियो । ल आमा आँखा खोल्नुस् त… । सपना बोलिन् । बिस्तारै आँखा उघारेर हेर्दा आँखा अगाडि ध्रुव पौडेललाई देखिन् । सपना हो कि विपना हो ? अल्मलिइन् । दुबै आँखा मिचिन् र फेरि अगाडि हेरिन् । मुसुक्क मुस्कराउँदै विपनामै ध्रुव उभिएको थियो । आमा, हजुरलाई जन्म दिनको मेरो सरप्राईज यही हो । सपना बोलिन् । बल्ल आमालाई विश्वास लाग्यो । सपना को बाबा ध्रुव पौडेल नै विपनामा संगै रहेछ । धेरै वर्षको विछोड पछि आफ्नो बाबा र आमाको पुनरमिलन गराएकी थिइन् सपनाले । ध्रुवले आफ्नो हातको औंला बाट औँठी झिकेर बिम्बाको औंलामा लगाई दिए । त्यस पछि अङ्गालोमा कस्न आए । त्यहाँ भएका जतिले ताली बजाए । बिम्बा भने लजाई रहेकी थिइन् । सुटुक्क औँठी मा नजर डुलाइन् । औंठीमा अंग्रेजी अक्षर ‘डी’ लेखेको थियो । आश मरिसकेको श्रीमानलाई एक्कासी साथमा पाउँदा बिम्बा त्यत्तिकै खुशी थिइन् । वर्षौं पछि बाबा आमाको साथमा बस्न पाउँदा सपनाको पनि खुशीले भुईँमा खुट्टा थिएन । बिम्बाले ध्रुवलाई निकै नियालिन् । ध्रुवको अनुहार र जिउ तिर दया लाग्दो गरि हेरिरहिन् । सबै जनालाई धन्यवाद दिएर विदा गरे । बिम्बाको जन्म दिन मनाएको रुम ध्रुव कै रुम थियो ।
दिउँसो तिर बाबा आमा र छोरी भएर रत्न पार्कमा गए । धेरै वर्ष पछि बगैँचामा संगै बसेर विगतका कुरा गरे । दु:खका कुरा बाँडे । मैले धेरै गल्ती गरेँ । मेरो कारणले गर्दा तिमीहरुले धेरै दु:ख भोग्नु पर्यो । सक्छौ भने मलाई माफ गरि दिनु । म पापी मान्छे हुँ । त्यस कै परिणाम मलाई दैवले सजाय दिँदैछ । म रोगी छु । म अब धेरै बाँच्दिनँ होला । यस्तै दु:खको कुरा गरेर ध्रुवले आँसु खसालेका थिए । दु:खका कथाहरु आमा र छोरीको पनि सयौं थिए । तर हराएको मान्छेलाई नचिताउँदो गरि पाउँदा सुनाई रहन जरुरत ठानेनन् । र माफी दिइन् । म जिउँदो छँदै तिमीलाई घरमा लगेर भित्र्याउँछु बिम्बा । समाजमा निर्धक्कले हिड्डुल गर्ने बाटो खोलि दिन्छु चिन्ता नगर। ध्रुवले भनेका थिए । मलाई छोरीले बचाई कि हुन् । उसले रगत नदिएको भए मरि सक्थेँ । उनी मेरो रगतको थोपा थोपा बाट बनेकी हुन् । तर आज उसको रगतको थोपाहरु मेरो शरीरको नशा नशामा डुलेको छ । म जस्तै हजारौं बिरामीको सेवा गर्ने डाक्टर बन्नु छोरी भनेर सपनालाई आशिष दिए । मैले केही गरेर सहयोग गर्न नसके पनि तिमीले छोरीलाई यतिको बाटो देखाईछौ । तिमी महान छौ बिम्बा । मलाई गर्व छ । तिम्रो साहस देखेर मेरो छाती चौडा भएको छ । हुन त म गर्व गर्न लायकको छैन होला । तिमी विदेश जान पर्दैन । म छु तिम्रो साथमा भनेर आमा र छोरीको काँधमा समाएर बाचा गरेका थिए । राती तीनै जना ध्रुव संगै बस्न गए । त्यो रात मनका कुरा गरेर विताए ।
सपना विहानै उठेर होस्टेलतिर लागीन् । उसको तालिम मा पुग्नु थियो । सुख दु:खका कुरा । आफुले भोगेका भोगाईहरु आपसमा साट्दै दिन ढल्कियो । साँझको खान खाएर सुत्ने तरखरमा थिए । सपनाको बाबाले आफुलाई असजिलो भएको बताए । ओछ्यानमा ढलेर छटपटाउन थाले । बिम्बाले एम्बुलेन्स बोलएर हस्पिटल मा पुर्याइन् । इमर्जेन्सीमा भर्ना गराइन् । सपनालाई हस्पिटल मै बोलाइन् । रातको एक बजे डाक्टरले भित्र बोलायो । तपाईको बिरामीलाई हामीले बचाउन नसक्ने भयौं भनेर अशुभ खबर दिए । रातको दुई बजे तिर सपनाको बाबाले सधैँ को लागि आमा र छोरीलाई छोडेर संसारबाटै विदा भए । आमा र छोरीको सपना फेरि टुटेर गयो । समाजको अगाडि ध्रुवको हातबाट रातो सिन्दुरले आफ्नो सिउँदो भर्ने बिम्बाको सपना..! बाबा र आमा संगै रमाएर बस्ने छोरीको सपना ….! सपना मै सीमित रहन पुग्यो सधैँको लागि अधुरो..अपुरो..भएर ।
————०००———
[email protected]
निस्दी गाउँपालिका-६ अर्चले,पाल्पा