एजेन्सी– सेरेना विलियम्सका लागि आइतबार इतिहास बनाउने मौका थियो। युएस ओपन टेनिस प्रतियोगिताको महिला एकलको फाइनलमा पुगेकी सेरेना जापानकी नाओमी ओसाकासँग भिड्दै थिइन्।
२३ वटा ग्रान्डस्लाम उपाधि जितिसकेकी अमेरिकी टेनिस स्टार सेरेना ओसाकालाई पराजित गर्दै मार्गरेट कोर्टको नाममा रहेको सर्वाधिक ग्रान्डस्लाम जित्ने उपाधि बराबरी गर्ने लक्ष्यमा थिइन्। अस्ट्रेलियाकी कोर्ट सर्वाधिक २४ ग्रान्डस्लाम जित्ने एक्ली खेलाडी हुन्।
वर्तमान पुस्ताकी सर्वश्रेष्ठ टेनिस खेलाडी सेरेना गत वर्ष आमा बनेकी थिइन्। आमा बनेपछि पनि कोर्टमा फर्किएकी सेरेनालाई रोजर फोडेररले शताब्दीकै उत्कृष्ट टेनिस खेलाडीको संज्ञा दिएका थिए। उमेरले ३६ काट्दासमेत फुर्तिली र उत्कृष्ट देखिने सेरेनाका विश्वभर करोडौं समर्थक छन्। ती समर्थकलाई खुसी तुल्याएर इतिहास बनाउने मौका रहेको आइतबारको खेलमा सेरेना सम्हालिन सकिनन्।
पहिलो सेट हारेकी सेरेना दोस्रो सेटमा अम्पायरमाथि गालीगलौजमा उत्रिइनन्। र्याकेट भुइँमा बजार्दै कराइन्। उनले अभद्र व्यवहार देखाएपछि अहिले विश्व टेनिस तातेको छ। अधिकांशले सेरेनाको व्यवहारको आलोचना गरेका छन्।
सेरेनाले आक्रामक व्यवहार देखाएका कारण दुई जना भने बिनाकसुर प्रभावित भएका छन्, फाइनलमा सेरेनासँग भिडेकी जापानकी ओसाका र खेलका अम्पायर कार्लोस रामोस।
उत्कृष्ट प्रदर्शन गरेर फाइनलको यात्रा गरेकी उनलाई प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा लिइएको थियो। कार्लोस टेनिसका उत्कृष्ट अम्पायर हुन्।
आइतबारको रात विश्व टेनिसले ठूलो खुसी मनाउनुपर्थ्यो। एक नयाँ प्रतिभा उदाएको खुसीमा झुम्नुपर्थ्यो। तर त्यसो हुन सकेन। ग्रान्डस्लाम पहिलो जितेकी ओसाकाको भन्दा बढी चर्चा सेरेनाको रिसको भयो।
सेरेना खेलका दौरान आक्रामक बनेको यो पहिलो पटक होइन। सन् २००९ मा पनि उनले लाइन जर्जलाई धम्की दिएकी थिइन्। सन् २०११ मा पनि सेरेना अम्पायर इभा एस्डाराकीसँग झगडामा उत्रिएका थिइन्। उनले इभालाई ‘मन नपर्ने’ र ‘भित्रैदेखि आकर्षण नभएको महिला’को संज्ञा दिइन्।
सेरेना पछिल्लो समय दबाबमा भएकाले पनि आक्रामक भएको विश्लेषण गरिएको छ। किनकि उनी आमा बनेपछि भर्खर खेलमा फर्किएकी छिन्। यस वर्षको विम्बल्डन ओपनमा दौरान सेरेनाका एजेन्ट जिल स्मोलरले सेरेनाबारे धेरै कुरा खोलेका थिए। सेरेनामाथिको दबाब र उनको समस्याबारे बताइरहँदा उनले सेरेना वर्तमान पुस्ताको सर्वश्रेष्ठ खेलाडी बताएका थिए।
उनी महान् टेनिस खेलाडी बन्नबाट एक खुड्किलो मात्र टाढा थिइन्। त्यो खुड्किलो आइतबार नै हात पार्न खोज्दा सेरेना दबाबमा आएकी हुन्। यो कुरा प्रतिद्वन्द्वी ओसाकाले पनि बुझेकी थिइन्। उनले फाइनलमा भएको घटना सेरेनाले जसरी पनि उपाधि जित्ने चाहेकाले भएको संकेत गरिन्। उनले भनेकी छिन्, ‘उनी वास्तवमै २४औं ग्रान्डस्लाम उपाधि जित्न चाहन्थिन्, होइन? यो सबैलाई थाहा छ र सबै ठाँउमा यस्तो हुन्छ।’
खेल समाप्तिपश्चात् प्रतिक्रिया दिँदै ओसाकाले सेरेनाको चर्को आवाजले फ्लसिङ मिडोज एरिना नै गुञ्जायमान भए पनि आफूले खेललाई सामान्य ढंगबाट लिएको प्रतिक्रिया दिएका थिइन्। ‘मलाई अतिरिक्त अंक दिइएको थियो र यसबाट म केही असमन्जसमा परेकी थिएँ,’ ओसाकाले भनिन्, ‘तर मैले खेलमै आफूलाई केन्द्रित गरिरहेको थिएँ। सेरेना कुनै पनि समयमा खेलमा फर्कन सक्ने सम्भावना मैले देखिरहेको थिएँ।’
सेरेनालाई आदर्श महिला मान्दै आएकी ओसाकाले भनिन्, ‘युएस ओपनमा सेरेनासँग खेल्ने मेरो पनि सपना थियो। मैले आफूलाई आज अत्यन्त भाग्यमानी सम्झेकी छु।’
खेलपछि केही शान्त देखिएकी सेरेनाले आफ्ना समर्थकलाई शान्त पार्न खोजेकी थिइन्। उनले भनिन्, ‘होइन, ओसाकाले ज्यादै राम्रो खेलिन्। यो उनको पहिलो ग्रान्डस्लाम हो। हामी सबैले उनलाई सम्मान गर्नुपर्दछ।’
के भएको थियो?
खेल चलिरहँदा प्रशिक्षकले सिकाउन नपाइने नियम छ। तर सेरेनाका प्रशिक्षक प्याट्रिक मोउराटोग्लोउले खेल चलिरहँदा सिकाएको भन्दै अम्पयार रामोसले चेतावनी दिए। जसका कारण ओसाकाले नम्बर पाइन्। तर सेरेनाले आफूलाई प्रशिक्षकले नसिकाएको भन्दै तत्काल प्रतिवाद गरेकी थिइन्।
लगत्तै प्रशिक्षक प्याट्रिकले सेरेनालाई सिकाइरहेको टिभी फुटेजमा देखिएको थियो। प्याट्रिकले केही भनिरहँदा सेरेना अनभिज्ञ जस्तै देखिएकी थिइन्।
फेरि अम्पायरले सेरेनाले खेल भावनाविपरीत व्यवहार देखाएको भन्दै अंक काटिदिएका थिए। दोस्रो सेटमा ओसाकाले ४–३ ले अग्रता दिलाइरहँदा अम्पायरसँग विवाद गर्दै भनेकी थिइन्, ‘तपाईं झुटा हो। जबसम्म तपाईं रहनुहुन्छ, मेरो पक्षमा खेल देख्नुहुन्न। तपाईं मलाई कहिले माफी दिनुहुन्छ?’
यसरी झगडाकै बीच ओसाकाले खेल जित्दै पहिलो पटक ग्रान्डस्लामको उपाधि जितिन्। तर उनको जितभन्दा पनि सेरेनाको रिसमाथि माहोल केन्द्रित थियो। सेरेनाले खेलपछि अम्पायरसँग हात मिलाउन अस्विकार गरेकी थिइन्।
के छ नियम?
आइटिएफ ग्रान्ड स्लामको नियमअनुसार खेलका दौरान गौलीगलौजमा उत्रन पाइँदैन। अफिसियल, प्रतिद्वन्द्वी, प्रायोजक र दर्शकलाई गाली गरे दण्ड हुने व्यवस्था छ। यस्तै जानाजानी खेल सामग्री फुटाए पनि सजाय हुने व्यवस्था छ।
यस्तै खेलाडीले खेलका दौरान प्रशिक्षकबाट कुनै किसिमको सुझाव लिन नपाइने नियम छ। खेल चलिरहँदा प्रशिक्षकसँग कुराकानी गर्न पाइँदैन।
भिडियो :