संस्मरण
- गम बयम्बु मगर
काल्यकालका कुनै घटना जिन्दगी भरि अविस्मरणीय हुने गर्दछ। बालापनमा अनुभव गरेका कुराहरू त धेरै हुन्छन् नै। त्यस मध्ये पनि कुनै घटना भुल्नै नसक्ने। मनमा र दिमागमा अमिट छाप बनेर बस्ने गर्दछ। कतिपय त्यस्ता घटनालाई स्मरण गर्दा रमाईलो पनि लाग्ने गर्दछ। कतिपय घटना स्मरण गर्न पुग्दा दु:ख पनि लाग्ने गर्दछ।
मेरो बाल्यकाल पनि अरु सामान्य व्यक्तीहरूको जस्तै कतै सुख, काहीँ दु:ख गरेर बितेको थियो। बाल्यकालको मेरो एउटा साथी थियो। र छ पनि। उमेरले चार वर्ष जति फरक भए पनि एउटै उमेरको दवाली जस्तै संगत गर्थे। मेरो पछि लाग्थे। बाल्यकालको मेरो सानो साथी थियो केशब बयम्बु। अर्चलेको जिम्मावालहरूको साईला बाको माहिलो छोरो केशब । म साटाके काहिँलाको माहिलो छोरो गम। उमेरले चार वर्ष जति फरक हामी। तर किन किन केशब भाइले मेरो पछ्यात गर्थे। फुर्सद हुँदा सम्म मलाई साथ दिन्थे। कि मैले उसलाई माया गरेर हो! उसको उमेरको दवालीहरू हुँदा पनि उनीहरूलाई छोडेर म संगै हिड्थे। खेल्थे। उसको घरमा पाकेको खाना खान दिन्थे। खुब जम्थ्यो हाम्रो मित्रता।
हाम्रो बाहरू, बाजेबाट छुट्टा भिन्न हुँदा बाजेको नामको जग्गा जिमिनहरू बाँडफाँट गर्दा हाम्रो बाको नाममा गाउँ बाट पुर्व पट्टि एक टुक्रो पनि परेनछ। वनमा घाँस दाउरा गर्नालाई पुर्व पट्टि नै निस्किन्थ्यौं। वनजङ्गल गाउँ देखि पुर्वतिरै धेरै छन्। र पायक पर्थो। झार्ल्याङ्ग भञ्ज्याङ्गको आँपको फेँदमा जम्मा भयो। जाडो बेलामा आगो फुकेर ताप्यो। वनतिर घाँस काट्न निस्केका घसाउरेहरू कहिले काहीँ जाँगर नलाग्दा घाँस काट्न आ-आफ्नै बारीतिर सटक सुटुक लाग्ने गर्थे। हामी उता पट्टि बारी नहुनेहरू लाई बिजोग। कि गाउँ तिर फर्केर आउ। कि उत्तरतिर परेको बारीतिर घुमेर जानू पर्ने। त्यस्तो बेला केशब भाईले धेरै पटक मेरो समस्या हल गरिदिएको छ। उनीहरू जिम्मावाल खलक। बारी जताततै। डाले घाँस र धुर घाँस जति पनि। भञ्ज्याङ्गमा बसेकाहरू एक एक गर्दै आ-आफ्नो बारी तिर लाग्दा म ट्वाँ पर्थेँ। “गम दाइ, जाम हाम्रो गुरुङ्गथोक तिर। गम दाइ, जाम हाम्रो फूलपाती भञ्ज्याङ्ग तिर।”
त्यत्तिखेर मनमनै भन्थेँ- “मेरो समस्या बुझ्ने तैँ रहेछस् भो भाइ।” मेला पर्व र रमाईलोमा जहाँ गए पनि हामी संगै। मलाई साईज मिलेको उसको कपडा समेत लगाऊ भनेर लाउन दिन्थे। उमेरले फरक भए पनि हाम्रो मन एउटै सतहमा थियो सायद। त्यही भर उसको र मेरो दाजुभाइ को सम्बन्ध मजबुत थियो। हुन त म सानै देखि सानै मान्छेहरुहको संगत गर्ने परेछु। सानालाई माया गर्ने मान्छे रहेछु। कहिले काहीँ आमाले भन्नुहुन्थ्यो- “ठुला मान्छेको संगत गरे पो, ठुलै कुरा सिकिन्छ। ठुलाले जानेको, भोगेको कुरा सिकाउँछ। सिक्न पाइन्छ। तिमी त सधैँ साना केटाकेटीको मात्रै संगत गर्छौ।”
आजकल सोंच्छु, ठुला देखि लजाउने। डराउने भएर त होला मैले सानाको मात्रै संगत गर्ने गरेको जस्तो लाग्छ। तर भोगाईको हिसाबले ठुला र अनुभावी मान्छेको संगत गर्यो भने ठुलाको भोगाईहरू हेरेर, सुनेर सिक्न र जान्न पाईन्छ भन्ने साँचो कुरा हो। तर सिक्ने प्रक्रिया ठुलाबाट मात्र सानाले सिक्ने हो। सानो मान्छेबाट सिक्न पाईदैन। मिल्दैन भन्ने होईन रहेछ। भलै सानाले नसिकाउँला, तर सानो मान्छेको क्रियाकलाप, हिँडाई र बोलीचाली सुनेर, देखेर ठुलो मान्छेले कति हो कति सिक्न सकिन्छ। बुझ्न सकिन्छ। ठुलो मान्छेको साना प्रतिको सोंचाई, हेराई र उसको दिमागले बनाउने साना प्रतिको धारणा के छ त्यसमा भर पर्छ जस्तो लाग्छ मलाई।
बर्खे विदामा स्कुल छुट्टी थियो। असार र साउनको आधा आधा महिना स्कुलमा बर्खे विदा हुन्थ्यो सायद। ठुलाहरू रोपाईको चटारोमा बिहान देखि साँझ सम्म निस्दी खोला र ग्याउँदी खोला खेततिर काममा जोतिनु पर्थ्यो। हामी साना मान्छेहरू घरमा बसेकालाई सघाउने। कुखुरा,गाई, भैंसीलाई पानी दिने। मन लागे घाँस काट्न जाने। धेरै जसो गाउँका दवालीहरू जम्मा भएर खेलेर, डुलेर समय बिताउने। उमेर पनि सानै थियो। करिब नौ दस वर्षको हुँदो हो। घरका ठुला मान्छेहरू रोपाई तिर गएका हुँदो हो। गाउँमा अलिक सुनसान नै थियो। आधा दिउँसोतिर केशब भाइले गम दाइ घाँस काट्न जाम भन्न आयो। हुन्छ भने। नाम्लो र एउटा हाँसिया लिएर निस्केँ। कता जाने त ? बाटोमा निस्कँदै गर्दा भुयाँर डाँडातिर सालको घाँस काट्न जाम भन्ने सल्लाह भयो। उतिबेला भुयाँर डाँडातिरको सालघारी सामुदायिकीकरण नगरेर खुल्ला थियो। गाउँलेहरूले सक्ने जति घाँस काटेर ठुँटा पारेका थिए। बढ्न नपाएर पोथ्रामा बसेको कुखुरी गोमान जस्तै पेच्रेत्तै परेका थिए सालका बुटाहरू। बोल्दै बोल्दै दुई जना भुयाँरडाँडातिर पाईला बढायौं। घामको ताप रापिलो थियो। भुयाँर डाँडाको तेर्सो बाटो हुँदै गएर कुम्भीतिर ओरालो नलागेर एकाराल्दी गैह्रा पट्टि बाटो बाट सालघारी भित्र पस्यौं। दुई तीन मिनेट तल झर्दै गर्दा बाटो छेऊको सालको बुट्यानको पातमा एउटा खैरो रङ्गको फट्याङ्ग्रा माथि मेरो नजर पर्यो। केट्यौलीपन त हो। “ओ,,, ङोसो, ङोसो होनङ् च खैर्या बुर्छुम्! (ऊ, हेर हेर त्यबाँ त खैरो फट्याङ्ग्रा) मैले भनेँ। हामी फट्याङ्ग्रा लाई समाउने सोंचमा पुगेछौं। मैले त्यसलाई पक्रिन हात बढाएँ। केशब भाइले मार्छु भनेर हाँसियाले क्वाक्ने सोंच बनाएछ। मेरो हात हाँसिया भन्दा अगाडि फट्याङ्ग्रामा त पुग्यो। दायाँ हात माथि हाँसिया हान्यो भाइले। नाडीमा काटियो। एकछिन घाउ हेरेर दुबै अक्क न बक्क भयौं। तुरुरुरु… रगत बग्न थाल्यो। दुखाई भन्दा घाउ देखेर डर लाग्यो मलाई। म रुन थालेँ- “आमा हो……! मेरो हात काट्यो…..! काटेको घाउमा बायाँ हातले समातेर रूँदै बाटोतिर निस्केँ। म त घाँस त काट्दिनँ। घर जान्छु भन्न थालेँ। मैले छोडेर आएपछि उ पनि एक्लै हुने भयो। “तिमी पनि हुँदैनौ भने त म एक्लै डराउँछु। म पनि जान्छु।” उसले भन्यो। घाँस काट्न गएका हामी दुबै जना
रित्तै घर फर्यौं। काटेको बेलामा त घाउ सानै थियो। जति जति शरीर बढ्दै गयो। छाला तन्किँदै जाँदा घाउको आकार बढ्दो रहेछ। अहिले तन्किएर दुई औंल बढी लामो पो भएको छ त। यसो नाडीमा हेर्छु। देख्छु त्यही घाउ। भुयाँरडाँडाको चिनो। त्यही घटना। त्यो बालापन।त्यत्तिबेला पीडा भए पनि अहिले सोंच्दा रमाईलो लाग्छ।
००००
अर्को दिन हामी साथी भाइ मिलेर निस्दी खोला सिसा घाटको लाक्वासिङ् आरीमा पौडी खेल्न पुगेछौं। खोला तिरमा सिरसिर हावा चलिरहेको थियो। दिउँसोको दुई तीन बजे हुँदो हो। पौडीने र ज्यानलाई चिसो हुँदा पारी पट्टि ढुङ्गमा भ्यागुते बसाईमा टाँसिन्थ्यौं। केशब भाइ रहमा पौडिँदै थिए। म घाममा ज्यान तताउँदै थिएँ। अरु पनि पौडी खेल्दै थिए। मेरो दिमागमा उपँद्रो भूत चढेछ। खोलाको तिरमा एउटा बाटुलो ढुङ्गामा नजर पर्यो। घाम तापिरहेको म जुरुक्कै उठेर गएँ। ढुङ्गा टिपेर रहतिर हेर्दै- “ल है…… आ- आफ्न ज्यान जोगाओ……..!” भन्दै रह माथि त्यो ढुङ्गा हुत्याएँ। रहमा पौडीरहेको केशब भाइ कै एकापट्टि कराङ्गतिर ढ्याप……..! गरेर बजारियो। “एेया माँ….!” आत्तिँदै उ रुन थाल्यो। जसोतसो रहबाट बाहिर आयो। म दौडेर गएँ। आफैले गरेको बिठ्याईँले गर्दा घटना घटेको थियो। उसलाई हातमा समातेर सोंधेँ- “दुख्यो……?” । आँखा भरि आँसुले भरिएर मधुरो स्वरमा उसले बोल्यो “उम्… !” भाइको दुखाईमा मेरो मनले पनि दुखाईको महशुस गरेँ। र पछुतो लाग्यो। “मैले गल्ती गरेँ। माफ देऊ है ?” उसले टाउको मात्रै हल्लायो। बोलेन। त्यस्तो बिठ्याईँ गर्ने हरामी रहेछ नभन्नु ल। उमेरै त्यस्तै थियो त ! उमेरलाई दोष !
००००
एक दिन फेरि निस्दीखोलाको बिरुवा खेत मुनि कोम्बा आरीमा दुवाली थुनेको रहेछ दिउँसो। राती ढडिया थाप्न जाने सल्लाह भयो केशब भाइ र मेरो। दुई भाई दुईटा ढडिया बोकेर साँझ त्यहाँ पुग्यौं। तीन चार ठाउँ स -सानो भँगालो बनाएर ढडिया थापियो। राती आई पुग्यौं घरमा। भोलि बिहानै अँध्यारैमा दौडियो ढडिया खोल्न। थापेको ढडिया खोल्दै गएको उसको ढडियामा माछा भरिएर चल्ने ठाउँ नभाको। टमक्कै! जिन्दगीमा पहिलो चोटी देखियो त्यसरी ढडिया भरिएर माछा परेको। मेरोमा पनि नपरेको होईन। तर उसको भन्दा थोरै परेको रहेछ। तर भाइले चार भागमा एक भाग जति मलाई दियो। “तिम्रोमा थोरै परेछ गम दाइ, ल यो तिम्लाई” भनेर दिए। दुबै जना रमाएर उकालो चढ्यौं गाउँतिर।
मैले एसएलसी पटस गरेपछि म क्यटम्पस पढ्न तानसेन तिर लागेँ। उसले स्कुल पढ्दै थिए। गाउँ बाट निस्के पछि बिस्तारै हाम्रो समीप्य पातलियो। त्यस पछि झन टाढा झन टाढा हुँदै आफ्नै जिन्दगीको यात्रामा दौड्ने क्रममा म उत्तर हुँदा उ दक्षिणमा भएको छ। म पश्चिममा हुँदा उ पुर्वमा परेको छ। भेट्नै गाह्रो आजकल। विगत बाल्य काललाई सम्झिँदा संगै छौं जस्तो लाग्छ। वर्तमानमा एक्लै एक्लै। उमेर हुँदा र ज्यानमा बल हुँदा सम्म कहाँ कहाँ टाढा रहे पनि बुढेशकालमा त आ-आफ्नै गुँडमा फर्कन्छौं नै। त्यो बेलामा मजाले भेटेर कालापनको रमाईला गफगाफ गर्ने धोको छ माईला भाइ। जहाँ रहे पनि हाँसो खुसीमा दिन बितोस् दाइको आशिर्वाद छ।
जदौ…..!
निस्दी गाउँपालिका-६ अर्चले,पाल्पा
लेखन:- १८, फागुन – २०७७