
- गम ‘समर्पण’
कलमको सहारा लिएर
कापीको पानाहरू रङ्ग्याउँदै
हृदयको अन्तस्करणमा छचल्किएका भावहरू
अक्षर अक्षरमा कोरेर शब्दहरू जोड्दै जान्छु
तर मलाई कवि नभन्नु
म कवि हुँदै होईन
भावनाको गहिराईमा डुबेर
शब्दहरूको माला उन्दै गर्दा-
फूलहरू मुस्कुराएको देख्छु
ढुङ्गाहरूमा आत्मा भेटाउँछु
हावा सित अङ्गालो मार्छु
पानी सित उच्छलनमा रमाउँछु
वनजङ्गल सित भलाकुसरी गर्छु
खोलानाला सित मितेरी गाँस्छु
तर मलाई कवि नभन्नु
म कवि हुँदै होईन
घामको झुल्को संगै व्यूँझेर
दिन भर घाम संगै डुल्छु
टहटह जूनको ज्योती संगै लुकामारी खेलेर
राती जूनको आडमा संगै निदाउँछु
म मान्छेको मुहारहरू पढ्छु-
दु:खी मुहार देख्दा दर्द महशुस गर्छु
मुस्कुराएको मुहारमा उज्यालो संसार देख्छु
बालकको मुहारमा सम्भावनाका किरणहरू देख्छु
वृद्धाहरुको मुहारमा भरोसा र आत्मविश्वास भेटाउँछु
तर मलाई कवि नभन्नु
म कवि हुँदै होईन
कसैको खुसीमा संगै खुसी बाँड्छु
बेसहाराको सहारा बन्न प्रयास गर्छु
अरुको दु:खलाई मेरै दु:ख मान्छु
कसैलाई चोट पर्दा मलाई पीडा हुन्छ
अरुको जस्तै ढुकढुकी चल्ने
मेरो पनि एक टुक्रा मुटु छ
सुख र दु:ख महाशुस गर्ने
मेरो पनि कमलो मन छ
सुख र दु:खमा मन पग्लिन्छ
म एक जीवित मानव हुँ
र मानवता देखाउन चाहन्छु
मेरो कर्तव्य पूरा गर्ने प्रयास गरेको हुँ
म मा भएको मानवता बचाउन खोजेको हुँ
त्यसैले, म कवि हुँदै होईन
मलाई कवि भन्दै नभन्नु
म कवि हुनै सक्दैन ।
**
२०७७, फागुन – ०९ गते आइतबार