- समर्पण
सहरको सडक पेटीमा
सपनाको महल ठड्याउँदै
हरेक रात पारदर्शी छानोबाट
आकाशको तारा गन्दै रात कटाउने भुईँ मान्छे
सहरको गल्ली डुल्दै जाँदा-
मिष्टान्न भण्डारको ढोका अगाडि टक्क रोकिन्छ
चौरासी व्यञ्जन परिकारहरू
तातो बाफ छोड्दै वासना बाँडिरहेछन्
हेर्न सकिन्छ, देख्न पाईन्छ
सुँघ्न सकिन्छ, थुक निल्न पाईन्छ
तर अहँ, छुन कदापि पाईएन
र मनको लड्डु खाएर, हात चाट्दै
गन्तव्य विहीन यात्रामा अगाडि बढ्छ ।
एक एकल विधुवा नारी
शृङ्गार पसल र सुनचाँदी पसल पुग्छिन्
रातो चुरा र पोतेमा मन अल्झाउँछिन्
शोकेसको सुनको तिलहरी नियाल्छिन्
थैलीको मुख खोलेपनि
सामाजिक बन्धनको डोरी खोल्न नसकेर
खाली सिउँदो, रित्तै गलामा
मनमा रङ्गीन कल्पनाहरू खेलाउँदै
श्यामश्वेत मुहार लिएर मुस्किलले पाईला बढाउँछिन्।
एक गरिब जलहरी-
च्यात्तिएको जाल समाउँदै
समुन्द्रको छेउमा उभिन पुग्छ
र देख्छन् समुन्द्रको गहिराईका माछाहरू
कल्पनामा हराउँदै गर्दा-
ठुला माछाहरू नजर भरि बोकेर
फुर्लुङ्ग रित्तै लिएर घर फर्कन्छ
तेलमा परपर्ती माछा भुटेको सपना देख्छ
र निस्तै भातको गाँस निल्न बाध्य हुन्छ ।
हो,
त्यो भुईँ मान्छे हामी नै हौं
एकल विधुवा नारी हामी नै हौं
च्यात्तिएको जाल बोक्ने जलहरी हामी नै हौं
प्राकृतिकले धनी देश नेपालको गरिब जनता हामी नै हौं
जो सदियौं देखि अस्तित्वको लागि संघर्षमा गुज्रिरहेका छौं
शासकहरूबाट हेपिएको
प्रशासकहरुबाट दबाईएको
नागरिक भएपनि अनागरिक झैँ हुनु पर्ने
अभाव र पीडामा छटपटिँदै अस्ताउनु पर्ने
इच्छा र आकांक्षाहरूको हत्यारा बन्न बाध्य
उपेक्षित सर्वहारा भुईँ मान्छेहरू हामी नै हौं !
गम बयम्बु मगर निस्दी-६,अर्चले, पाल्पा २६ माघ- २०७७