- गम बयम्बु मगर
“आज त फोटो खिच्ने हो। राम्रो कपडा लाएर आउने है !”
हामी तीन जना दौतरीहरूले सल्लाह गर्यौं। हामी थियौं, – दयाराम,मीन बहादुर (मिलन) र म। आजकल भन्दा धेरै फरक थियो त्यो बेलाको बालापन। आजकल जस्तो हातमा मोबाइलको सट्टा गुलेली र मट्याङ्ग्रा हुन्थ्यो। कि त कसैले फालेको पुरानो मोजामा कागजको टुक्रा। के के कोचेर बनाएको बल। हैन भने पच्चीस पैसा/सुकी सुकी या पचास पैसाको ढ्याक र ढुङ्गाको एउटा टुक्रा। जसलाई हामी घुना भन्थ्यौं। जुन ढुङ्गा खोपी खेल्दा प्रयोग गर्ने गरिन्थ्यो। पाल्पा निस्दी गाउँपालिका ६ नं. वडा अर्चले (साविक अर्चले गाविस- अर्चले) को मगर गाउँमा हुर्केका हामी नेपाल खस भाषा बोलेको सुन्दा चिजा मान्थ्यौं। सानामा खस भाषा बोल्न सिक्नु पर्छ। जान्नु पर्छ भन्ने सोंच नै हुन्थेन। साथी,मित्र र आजकल नयाँ पुस्ताले जस्तो जिग्री, ब्रो र फ्रेन्ड भन्न त जानेकै थिएन। सिक्नै थियो भनम। हामी साथी भाइमा बोल्दा सम्बोधन गर्थ्यौं, नामबाटै मलाई- गम्या, दयारामलाई दया,मीन बहादुरलाई भने बाआमाले मायाँ गरेर बोलाउने नाम थियो- काल्या। (काले) गाउँमा संगैको दौतरीहरू वीच बोल्ने एउटा अर्को शब्द पनि थियो, “बुढा”। धेरैलाई सम्बोधन गर्नु पर्दा “बुढाको”। यो भने पाल्पाको पुर्वी भेगतिर मगर गाउँहरूमा केटाहरू देखि बुढापाकाहरूले आफ्नै दावलका। उस्तै उमेर समूहका दौतरीहरू वीचमा बोल्दा संबोधन गर्ने शब्द रहेछ जस्तो लाग्छ।
२०५३ सालतिरको कुरा हुनुपर्छ यो। हामी सात क्लासमा पढ्थेँम। क्यामेरा सितिमिती देख्न नपाएका हामीलाई- “ल अलिक राम्रा राम्रा कपडा लगाएर आओ केटा हो। मैले फोटो खिचिदिन्छु।” यसो भन्ने उहाँ हुनुहुन्थ्यो घन बहादुर खण्डलुक। साईनोले मैले भेना पर्छ। मेरो दावली साथीको ठुल्दाई। एकै दिनमा जन्मेका रहेछौं हामीहरू- दयाराम र म। फोटो खिच्ने भनेपछि खुशीको सीमा कहाँ पुग्यो कुरा नगर्नुस्।
सात क्लासमा पढ्दा बल्ल पहिलो पटक पाइन्ट लाउन पाएको मान्छे म। निलो रङ्गको पाइन्ट र आकाशे रङ्गको कमिज। स्कुल पढ्दाको पोशक। स्कुल ड्रेस थियो। त्यही पाउदा पनि कम्ता भाग्यमानी मानिनँ। र कम्ता खुशी त थिएन। पाइन्ट त्यो भन्दा अरु थिएन। किन थिएन ? किन नकिनेको ? नसोध्नु होला। मेरो घरायसी आन्तरिक कुरा थिए। तर यत्ति भनेपछि तपाईहरूले बुझिसक्नु भयो। हैन त ? बुझ्नु भएमा धन्यवाद छ। बुझ्नु भएन भने पनि केही छैन। बेकारमा धेरै नसोंच्नु होला।
“स्कुलबाट आएपछि त अरु कपडा लाएनि हुन्छ त। कहाँ जान लाको फेरि ?” आमाले उत्सुकता साथ सोध्नु भयो।
“फोटो खिच्ने हो के आमा ! घन बहादुर भेनाले फोटो खिचिदिन्छु भन्नु भाछ।” घरबाट निस्किँदै तस आमालाई भनेर दौडेँ।
आफु संग जे छ लाएर आफ्नो हिसाबले चट्ट चिटिक्क भएर खण्डलुक मास्टरहरूको घरतिर प्रस्थान गरेँ। घन बहादुर भेना कतारबाट छुट्टीमा आउँदा क्यामेरा लिएर आउनु भाको रहेछ। हामी तयार भयौं। उभियौं हामी तीन जना छटाहाहरू। कसैको बेलौटी झार्ने। कसैको सुन्तला झार्ने। कसैको मेवालाई गुलेलीमा मट्याङ्ग्रा हालेर निकै जोडतोडले हिर्काउने। अनि मेवाको चोक तुरुरुरु चुहिँदा- “ल, ल, भैसीको दूध चुहियो” भनेर पात थाप्न पछि नपर्ने छटाहारू। खण्डलुक मास्टर निबाहरुको आँगनमा फोटो खिच्ने तयारी हुँदै थियो। लाईनमा हामी तीन जना संगै उभियौं। स्कुलको पोशकमा। मेरो त भाको त्यही।
क्यामेरामेन घन बहादुर भेना। हामी खिचाउनेवाला।
“तयार भयौ केटा हो ?”
“हजुर, तयार छ।”
“मैले समाएको क्यामेरामा हेर्ने है। यहाँ बत्ती बल्छ। यसमा हेर्ने।” क्यामेराको फ्लास लाईट दिने ठाउँमा औंलाले देखाएर क्यामेरामेनले सुझाउनु भयो।
“हुन्छ,…..!” हामी पूर्ण तयारी र क्यामेरामेनको निर्देशनमा सहमति।
“रेडी……, अलिक अलिक हाँस्ने है….!” खिचिक्क। खिचिक्क….। फलास लाईट आयो। लाईट आएको देखेपछि थाहा भयो फोटो खिचियो।
त्यसरी हामी तीन जनामा कहिले यता कहिले उता पालो गरेर उभिँदै तीन चार स्न्याप फोटो खिचायौं। मैले पहिलो पटक फोटो खिचाएको नै त्यही दिन थियो। रमाईलो लागिरहेको थोयो। आहा! कति अरुको फोटो मात्रै हेर्ने? आफ्नो कस्तो आउँदो रहेछ हेर्न पाईने भो भनेर मन त्यसै आनन्द थियो।
“अब भयो हैन त केटा हो ?” क्यामेरामेनले सोध्नु भयो।
“हैन, हैन, भाको छैन। अर्को कपडा लाएर खिच्ने हो फेरि।”
दयाराम र मीन बहादुरले बोले। जिनको पाइन्ट लाउन थाले। उनीहरू संग जिनको पाइन्ट थियो।
“ल छिटो गर त्यसो भए।” क्यामेरामेन बोल्नु भयो।
चाट्ट चुट्ट जिनको पाइन्ट लगाए। कपाल मिलाए। तयार भयो। संगै उभियौं। क्यामेरामेन हाम्रो अगाडि उभिनु भयो। ल है त। रेडी है……! भन्दै क्यामेरा समाउनु भयो।
त्यत्ति नै बेला दयाराम र मीन बहादुरले नयाँ प्रस्ताव गरे।
“जिनको पाइन्ट लाउनेहरू मात्रै खिचम अब।”
उनीहरुको रहर थियो। मेरो भने जिनको पाइन्ट छैन। थिएन। म छेऊतिर सरेँ। मेरो अनुहारमा बादल लाग्यो सायद। बेखुशीले अँध्यारियो होला। तर मैले ख्याल गरिनँ। घन बहादुर भेना(क्यामेरामेन) ले भन्नु भयो। “केही हुँदैन। गम सालो पनि संगै उभियौ। उसको जिनको पाइन्ट छैन।” क्यामेरामेनले मेरो अभाव, जिनको पाइन्ट नभएको अवस्था बुझेर बोल्नु भएको थियो। तर केटा हरूले, “हुँदैन, जिनको पाइन्ट मात्रै लाउनेहरूको फोटो कस्तो आउँदो रहेछ हेर्नू छ के” भनेर जिद्धि गरे। म आफै पाखा लागेँ।
क्यामेरामेन घन बहादुर भेना हाम्रो टोलबाट एसएलसी पास गर्ने मा दोस्रो व्यक्ति हुनुहुन्थ्यो त्यो बेला। केटाहरूले कुरा नसुनेपछि मलाई भन्नु भयो-
“सालो बाबू, दया र मीन भदैको कुरा सुनेर मन नदुखाऊ है। तिमीले जत्तिको पढ्न जानेका छैनन् यिनीहरुले। धेरै पढेर सरकारी जागिर। निजमति जागिर खान सक्ने हुनु। जिनको पाइन्ट त कति लाउन पाइन्छ कति।”
म सानै देखि सानो तीनो कुरामा मन नदुखाउने। सोझो लाटो पाराको मान्छे। दयाराम र मीन बहादुरको व्यवहार देखेर खासै मन दुखाइनँ। सामान्य नै लाग्यो। जिनको पाइन्ट थिएन। आफ्नै ठाउँमा थियो। उनीहरूको चाहना मैले बुझेँ पनि। तर मनमा एउटा इख बस्यो। तर त्यो इख दया र मीन बहादुरलाई इख मार्ने इख थिएन।
उनीहरु लाई देखाउने इख होईन। कसरी हुन्छ मैले धेरै पढ्नु पर्छ। पढेर सरकारी जागिर खानु पर्छ। मनमा त्यो इख लिएर त्यसरी त्यहाँ बाट छुट्टियौं। र क्यामेरामेन घन बहादुर भेनाले भन्नु भएको कुरा दिमागमा घरिघरी आईरहन्थो। धेरै पढ। सरकारी जागिर। निजमति जागिर खान सक्ने हुनु। यी शब्दहरू दिमागमा घुमिरहन्थ्यो। बेला बेला आउने गर्थ्यो दिमागमा।
पढ्दै गएँ। पढाईमा जोड गर्न थालेँ। नभन्दै दयाराम र मीन बहादुरले एसएलसी नदिँदै स्कुल छोडेर लाहुरतिर लागे। मैले मेरो पढाईलाई रोकिनँ। स्कुल पछि कलेज पढेँ। जागिर खाइ सकेको थिएनँ। एक पटक घन बहादुर भेना कतारबाट छुट्टीमा घर फर्किँनु हुँदा उहाँलाई भेटेर कुरा गरेँ। “एक पटक हजुर संग फोटो खिचाउँदा यस्तो भएको थियो। हजुरले भन्नु भएको कुराले मेरो जीवनमा मलाई प्रेरित गरायो। मलाई हौसला मिल्यो। म यहाँ सम्म आएको छु।”
“मैले तिम्रो लगनशिलता र क्षमता देखेरै त्यसो भनेको हुँ सालो बाबू! तिमीमा त्यो गुण थियो। र छ पनि। हेर, त हाम्रो दया र मीन भदै पढ्नै छोडेर कहाँ पुगे?” र अझैँ थप्नु भयो, “अब सरकारी जागिरे। निजमतिसेवामा काम गरेको देख्न पाउँ।” उहाँले भन्नु भएको थियो। उहाँको शुभेच्छ थियो।
तर सरकारी जागिरे हुन सकिनँ। निजमति सेवामा प्रवेश गर्न मैले ढोका खोल्नै सकिनँ। सरकारी सेवा निजमति त्यस्तै भयो। मात्र एक असल पत्नीको असल पति हुन प्रयास गरिरहेको छु। एक सामान्य नागरिक भएर सरल जिन्दगी जिउन सक्ने नेपाली नागरिक भैइरहेको छु। तर कसै संग गुनासो छैन। न देश संग। न परिवार संग। न छिमेक र समाज संग। न त जिन्दगी संग।
दु:ख र संघर्ष वीच पनि सरल तरिकाले जिन्दगी जिउन प्रयासरत छु। जिन्दगीले पाठ सिकाउँछ। तर भोग गर्ने। भोग्ने आफैले हो। अचेल त मलाई लाग्छ, दु:ख माने दुखै छ जिन्दगी। सुख मानेमा र जिउन जानेमा सुख पनि छ जिन्दगी। त्यसैले जिन्दगी कसरी जिउने तपाईकै हातमा छ। तपाईमा भर पर्छ। अरुलाई दोष नलगाउदा ठिक होला।
- निस्दी गाउँपालिका-६ अर्चले, पाल्पा