काठमाडौँ : शुक्रबार टोखास्थित ग्रिन भिल्ला कोलोनीमा एक दम्पती मृत फेला परे । पति उमेश केसीको शव ओछ्यानमा पल्टिरहेको थियो भने पत्नी सुदीक्षा गिरीलाई झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनीहरू दुवै जना पेसाले इन्जिनियर थिए ।

अमेरिका बस्दै आएका उमेश कार्तिक ७ गते तीन महिनाको लागि नेपाल आएका थिए । जनवरी १४ मा उनी पुनः अमेरिका उड्‌ने तयारीमा थिए । जसको लागि प्लेनको टिकट समेत बुकिङ भइसकेको थियो । तर, शुक्रबार राति श्रीमतीसँगै उनको शव फेला पर्‍यो ।

उमेशको मृत्यु बुधबार राति भएको र सुदीक्षाले बिहीबार साँझ मात्रै आत्महत्या गरेको पोस्टमार्टम रिपोर्टले देखाएको छ । सुदीक्षाले बिहीबार दिउँसोसम्म दिदी शर्मिलासँग फोनमा कुराकानी गरेको खुलेको छ । पहिलोपटक उमेश र सुदीक्षाको शव शर्मिलाले नै देखेकी थिइन् । शर्मिलाले शुक्रबार बिहानै घटनाबारे थाहा पाएर पनि बेलुका मात्रै प्रहरीलाई खबर गरेकी थिइन् । जसको कारण उनी अहिले शंकाको घेरामा छिन् ।

पोस्टमार्टम रिपोर्टअनुसार सुदीक्षा दुई महिनाकी गर्भवती रहेको समेत खुलेको छ । त्यस्तै, उमेशले केही दिनअघि बीएन्डबी र ग्रान्डी अस्पताल गएर आफ्नो चेकअपका गराएको जानकारी प्राप्त भएको प्रहरीले बताएको छ । यही विषयमा उनीहरूबीच झगडा भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

दुवै जनाको मृत्यु एकै कोठामा भएकाले कारण पत्ता लगाउन भने केही समय लाग्‍ने प्रहरीले बताएको छ । अनुसन्धानका लागि उनीहरूको फोन प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय