पाल्पा, समुदाय स्तरमा कोरोना संक्रमण फैलिदै गए पछि रामपुर नगरपालिकाले ६ दिन नगरपालिका शिल गर्ने निर्णय गरेको छ । नगरपालिकामा शुक्रबार बसेको नगर विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको बैठकले आसोज २४ गते शनिबार राति १२ बजे देखि असोज ३० गते शुक्रबार सम्म शिल गर्ने निर्णय गरेको हो । रामपुर नगरपालिका नगर कार्यपालिका पदाधिकारी, इलाका प्रशासन कार्यालय, सुरक्षा बेस क्याम्प रामपुर, ईलाका प्रहरी कार्यालय रामपुर, रामपुर उद्योग वाणिज्य संघ, नमस्ते रामपुर यातायात प्रा.लि.का प्रतिनिधि र सञ्चाकर्मीहरु सहित सहभागी बैठकले बन्द गर्ने निर्णय गरेको हो ।
यातायात तथा बजार खुल्नाले बढ्दो आवतजावतका कारण संक्रमण दर वृद्धि भएको भन्दै शिल गर्ने निष्कर्शमा पुगेको हो । रोकथामलाई थप प्रभावकारी बनाउन र नगरवासीलाई सुरक्षित राख्ने उद्देश्यका साथ रामपुर नगरपालिका नगर कार्यपालिकाको अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ । साथै स्वास्थ्यका सम्पूर्ण मापदण्हरु अपनाई र सामाजिक दुरी कायम गरी पालना गर्न र गराउन नगरपालिकाले अनुरोध गरेको छ ।
जनजीवन सहज बनाउन नगरपालिकाले खाद्यान्न, ग्यास, दुध, तरकारी तथा फलफूल, निर्माण सामाग्रीका पसलहरु साथै निर्माण सामाग्रीहरु बोक्ने र अन्य ढुवानीका साधनहरु विहान ६ बजे देखि ९ बजे सम्म स्वास्थ्य मापडण्द पालना गराई संचालन गर्न दिर्ने, ढुवानीका साधनहरु साँझ ५ बजे पछि मात्र नगरपालिका क्षेत्रमा प्रवेश गर्न दिने र नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण औषधी पसलहरु यथावत संचालन गर्ने गराउने निर्णय गरेको छ ।
त्यस्तै नगरपालिका भित्र संचालित बैंक तथा वित्तिय संस्थाहरु, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्यूसन, कोचिङ्ग, तालिम केन्द्र तथा वैकल्पीक शिक्षा) पूर्ण रुपमा बन्द रहने, मोटरसाईकल लगायतका अन्य यातायातका साधनहरु पूर्ण रुपमा बन्द गर्ने, होटल, रेष्टुरेण्ट, खाजा घर, चिया पसल लगायतका अन्य सबै व्यापारीक एंव व्यवसायिक पसलहरु पूर्ण रुपमा बन्द गर्ने भएको छ ।
नगरपालिकाले धार्मिक स्थलहरुमा दैनिक नित्यपूजा बाहेक कुनै पनि गतिविधि संचालन नगर्ने र नगराउने, चाडपर्वहरु आ–आफ्नो घर भित्र रही आ–आफ्ना घरका सदस्यहरु सँग मात्र मनाउन आग्रह गरेको छ । सरकारी तथा संस्थागत कार्यालयहरु कार्यालय प्रयोजनका लागि मात्र संचालन रहने छ । सूचना विपरित कुनै कार्य गराएमा प्रचालित कानून बमोजिम कारवाही हुनेछ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले ३० गते सम्म बन्द गर्ने र त्यस पछि आवश्यकता अनुसार अन्य उपायहरु अवलम्बन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले बजारमा चहलपहल बढे संगै संक्रमणको दर बढेको छ । अहिले अस्पतालका अधिकांश स्वास्थ्यकर्मीहरुमा पोजेटिभ देखिदा थप समस्या हुन सक्ने भएकाले हामी केही दिन बन्द गर्ने निष्कर्शमा पुगेका हौं ।’
रामपुर नगरपालिकाले रामपुर अस्पतालका स्वास्थ्यकर्मी सहित सरकारी कर्मचारी गरी ४४ जनाको स्वाव संकलन गरिएकोमा ३४ जनाको रिपोर्ट आउँदा उनीहरु सबैको रिपोर्ट पोजेटिभ आएको थियो । प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा गरिएको परिक्षणमा रामपुर अस्पतालका ३० जना र अन्य कर्मचारी तथा कन्ट्रयाक ट्रेसिङ्गमा परेका गरी ३४ मा संक्रमण देखिएको रामपुर नगरपालिकाका स्वस्थ्य शाखा संयोजक तिर्थ प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । यस अघि निजी क्लीनिकहरुमा कोरोना परिक्षण गरेका १२ जना भन्दा बढीमा पनि कोरोना पुष्टि भैसकेको थियो । पछिल्लो समय कोरोना परिक्षण गरीएका अधिकांशको रिपोर्ट पोजेटिभ देखिन थाले पनि समुदाय स्तरमा तिव्रगतिमा फैलिरहेको निष्कर्श निकाल्दै नगरपालिका शिल गरेको हो ।