३१ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्वीस बैंकसम्बन्धी प्रोपोगाण्डा प्रधानमन्त्रीको चरित्रहत्या गर्ने सुनियोजित षडयन्त्र रहेको बताउनुभएको छ । बुधबार बिहान एक प्रेस नोट जारी गर्दै सल्लाहकार थापाले ूग्लोबल वाच एनालाइसिसूको हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ प्रधानमन्त्रीको विरूद्धमा दुष्प्रचार गरेको स्पष्ट पार्नु भएको छ ।

राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा विषयान्तर गर्न समाचारका नाममा प्रोपोगाण्डा गरिएको उल्लेख गर्नुभएको छ ।

सल्लाहकार थापाले आम नेपालीहरूलाई प्रधानमन्त्रीविरूद्धको यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गर्नुभएको छ । उहाँले सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्नुभएको छ

सल्लाहकार थापको प्रेस नोट

“ग्लाेबल वाच एनालाइसिस”काे हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेकाे अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठाे सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएकाे छ । स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेकाे वा यस्तै व्यहाेराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपाेलकल्पित रहेकाे स्पष्ट गर्दछु ।

जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूकाे रवैया खेदजनक छ । राष्ट्रिय हितकाे रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनकाे साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशाेधनजस्ताे महत्वपूर्ण निर्णयमा सिंगाे राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रकाे नेतृत्व सम्हालिरहनु भएकाे निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियाेजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेकाे प्रष्ट नै छ ।

आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारकाे भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताकाे न्यूनतम जवाफदेहिता, जिम्मेवारीबाेध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।

सूर्य थापा प्रधानमन्त्रीका प्रेस सल्लाहकार ३१ असार २०७७

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय