२५ असार, काठमाडौं । आजदेखि तीन दिनसम्म अर्थात असार २८ देशभर भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा डुवानबाट सचेत रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

आजदेखि सातवटै प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो ।

प्राधिकरणले प्रेस नोट मार्फत असार २८ गतेसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ । पहाडी क्षेत्रका साना खोलानाला, खहरे र नदीमा बाढी आउन सक्ने सम्भावना रहेको जनाएको छ ।

प्राधिकरणले झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट चितवन लगायतका जिल्लाका होचो ठाउँमा डुबानमा पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । संघीय मन्त्रालय, प्रादेशिक सरकार, स्थानीय सरकार, राजनीतिक दल, विकास साझेदारहरू, सरकारी एवम् गैरसरकारी तथा निजी क्षेत्र र विपत् व्यवस्थापनमा खटिने निकाय र सर्वसाधारणलाई उच्च सर्तक रहन प्राधिकरणले अपिल गरेको छ ।

ठूला नदीनालामा आउने बाढीबारे जानकारुी लिन टोल फ्री नं. ११५५ र आपतकालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन केन्द्रको टोल फ्री नं. ११४९ मा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय