पाल्पामा सोमबार ८२ जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै जिल्लामा संक्रमितको संख्या १७३ पुगेको छ। पूर्वखोला गाउँपालिका–१ सिलुवास्थित अकला आधारभूत विद्यालयको क्वोरन्टाइनमा बसेका ३५ जना, वडा नम्बर ३ रिङ्नेरहको जनउज्जवल आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका २३ र वडा नम्बर ५ वीरकोटस्थित गणपति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
एक बालक र एक बालिकासहित ६५ पुरुष र १५ जना महिला छन्। उनीहरू १ वर्षदेखि ५५ वर्ष उमेर समूहका रहेका जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्व न्यौपानेले बताउनु हुन्छ । उहाँका अनुसार सबैको अवस्था सामान्य छ।
संक्रमितलाई राख्न आइसोलेसन अभाव ठूलो संख्यामा एकैपटक कोरोना संक्रमण पुष्टि भएकोले व्यवस्थापनमा समस्या देखिएको पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउनु भएको छ।
तत्काल आइसोलेसनमा राख्न सक्ने अवस्था नरहेको उहाँले बताउनु भयो। अब उनीहरूलाई स्थानीय तहमै स्तरीय क्वारेन्टाइन निर्माण गरेर राखिने अध्यक्ष थापाले बताउनु भयो। ‘एकैपटक धेरै संख्यामा संक्रमित भेटिएका छन्, आइसोलेसन पर्याप्त छैन। तत्काल बनाउन सक्ने अवस्था पनि छैन,’ उहाँले भन्नु हुन्छ , ‘गाउँमै अलि स्तरीय र व्यवस्थित क्वारेन्टाइन निर्माण गरेर उनीहरूलाई राख्ने तयारी भइरहेको छ।
तर कस्तो खालको क्वारेन्टाइन निर्माण गर्ने भन्नेबारे विशेष बैठक बसेर निर्णय गरिने बताउनु हुन्छ । अध्यक्ष थापाका अनुसार लक्षण देखिएपछि भने थप उपचारका लागि तत्काल अस्पतालमा पठाइने छ। त्यस्तो अवस्थाका लागि नजिकै गाडीसमेत स्ट्यान्डबाइ राखिने उनले बताउनु हुन्छ । लकडाउन सुरु भएपछि भारतका विभिन्न ठाउँबाट फर्किएका उनीहरू स्थानीय क्वारेन्टाइनमा बस्दै आएका छन् ।
उनीहरू अहिलेसम्म क्वारेन्टाइनमा सुरक्षित बस्दै आएको अध्यक्ष थापाले जानकारि गराउनु भयो। यस्तै आजै माथागढी गाउँपालिका–२ रहबासमा २ पुरुषमा पनि कोरोना पुष्टि भएको छ।
उनीहरूलाई सदरमुकाम तानसेनस्थित नर्सिङ क्याम्पसमा बनाइएको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष सन्तोष थापाले बताउनु हुन्छ । जिल्लाबाट ५ संक्रमित भने निको भएर घर फर्किएका छन्। भने एक जनाको मृत्यु भएको छ।