बैशाख ३० गते । एक युवकमा कोरोना सङ्क्रमित भेटिएपछि उनको गाउँ सप्तरीको हटेललाई सिलबन्दी गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको हिजो सोमबार साँझ बसेको बैठकले सङ्क्रमितको गाउँ जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ को हटैल टोललाई सिलबन्दी गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले जानकारी दिनुभयो ।
सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग, क्लोज कन्ट्याक्टमा आएका व्यक्ति, सम्भावित अन्य व्यक्तिको स्वाब संकलन गरी पीसीआर रिपोर्ट नेगेटिभ नआएसम्म उक्त टोल सिलबन्दी रहने उहाँले बताउनुभयो । गएराति देखि नै टोलमा नेपाली सेना, प्रहरी परिचालन गरी कन्ट्याक्ट ट्रेसिङ्ग कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
पीसीआर रिपोर्ट आउनु एक दिनअगाडि क्वारेन्टाइनबाट घर फर्किएका सङ्क्रमितको सीधा सम्पर्कमा आएका आमा, बाबा, भाइ र एक जना साथीसहित चार जनालाई सोमबार साँझ नै डाक्नेश्वरीको पातो स्थित चन्द्रकान्त माविको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो । लकडाउनको समयमा गत बैशाख ९ गते १३ जनाको समूहमा चितवनबाट जिल्ला आएलगत्तै सबै जनालाई कन्तचन्द्र माविको क्वारेन्टाइनमा राखिएको थियो । बैशाख २५ गते सङ्क्रमित युवकसहित सात जनाको स्वाब सङ्कलन र छ जनाको आरडीटी परीक्षण गरिएको थियो । ती सात जनाको स्वाब रिपोर्ट नआउँदै युवकसहितलाई २८ गते घर पठाइएको थियो ।