काठमाडौं– प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले महोत्तरी जिल्ला अदालत जलेश्वरसमक्ष आत्मसमर्पण गरेका छन्।
२०७२ भदौ २५ गते सशस्त्र सीमा सुरक्षाबल जलसागरमा कार्यरत असई थमन विकको मधेस आन्दोलनको क्रममा आन्दोलनकारीहरुबाट हत्या गरिएको थियो। सोही मुद्दाका फरार अभियुक्त शर्माले सोमबार आत्मसमर्पण गरेका हुन्। उनले आफ्ना कानुन व्यावसायी रमेशकुमार पाण्डेमार्फत निवेदन दिँदै आत्मसर्मण गरेका हुन्।
उनले अदालतबाट उपस्थितिका लागि जारी भएको परमादेशको सम्मान गर्दै आफू अदालतसमक्ष उपस्थित भएको निवेदनमा उल्लेख गरेका छन्।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरी उच्च अदालतमा मुद्दा विचाराधीन रहेको समयमा २ नम्बर प्रदेशले उनलाई राज्यमन्त्रीमा सपथ गराएको थियो। सपथलगत्तै उच्च अदालत धनुषाले उनलाई अदालत उपस्थित हुन नत्र पक्राउ गर्न प्रहरीको नाममा आदेश जारी गरेको थियो।
उच्च अदालतको आदेश प्राप्त भएपछि आफू अदालत उपस्थित भएको उनको निवेदनमा जिकीर गरेका छन्।