माघ ९ गते । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ ।
कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान सुरु भएको हो । वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गर्नुभएको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा निर्वाचन हुँदैछ । कुल १८ पदका लागि आज बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि पुगिसक्नुभएको आयोगले जनाएको छ ।
निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को जनकपुरधाम उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, वाग्मती प्रदेशको ललितपुर महानगरपालिका–४ वडासमिति भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरलाई मतदानस्थल तोकिएको छ ।
यसैगरी प्रदेश नं ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदानस्थल निर्धारण गरिएको आयोगले जनाएको छ ।
निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६ मतदाता हुनुहुन्छ । निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त तुल्याइएको आयोगले जनाएको छ ।
प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङको मसीको निर्वाचन चिह्न तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न सेतो कागजमा रातो रङको मसीको निर्वाचन चिह्न तयार गरिएको आयोगले जनाएको छ । सम्पूर्ण मतदातालाई परिचयपत्र लिई मतदानमा सरिक हुन अनुरोध गरिएको छ ।
मतदानपछि आवश्यक व्यवस्था मिलाई मतगणना गर्न र नतिजा सार्वजनिक गर्न पनि निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिइसकेको छ । “निर्वाचन जति स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र सर्वस्वीकार्य हुन्छ, त्यति नै शासन व्यवस्था उत्तरदायी, पारदर्शी, जनमुखी र सदाचारयुक्त हुन्छ”, आयोगले स्मरण गराएको छ ।
यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन÷तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ । प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता हुनुहुन्छ ।