काठमाडौं- नेपाली कांग्रेसको विवाद नेपाल विद्यार्थी संघको भागबण्डामा पुगेर अड्किएको छ।

नेपाल विद्यार्थी संघको तदर्थ समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ४६ प्रतिशत हकदाबी गरेको छ। तर, पार्टी संस्थापन पक्षले पौडल समूहलाई ३५ प्रतिशत र अर्का नेता कृष्णप्रसाद सिटौला समूहलाई १५ प्रतिशत छुट्याउन सकिने अडान लिएको छ।

संघको ११औं महाधिवेशनमा पौडेल समूहबाट ४६ प्रतिशत चयन भएको उक्त समूहको दाबी छ। सबैलाई समेट्ने कुरा भएको बताउँदै सह-महामन्त्री डा प्रकाशशरण महत भन्छन्, ‘उहाँहरु (पौडेलपक्ष) बहानाबाजी बढि गर्नुहुन्छ। पार्टी बैठकमा एउटा कुरा गर्नुहुन्छ। बाहिर अर्को कुरा हुन्छ।’

संस्थापन र पौडल समूहका नेताहरु सम्मिलित बैठक पटक-पटक बसे पनि ठोस निणर्य गर्न नसक्दा शुक्रबार बोलाइएको बैठक पनि प्रभावित हुने देखिएको छ। मंसिर २६ देखि बोलाइएको केन्द्रीय समिति बैठक पार्टीभित्रको विवादले सुचारु हुन सकेको छैन। यसबीचमा पाँच दिन बैठक बोलाइए पनि संस्थापन पक्षका नेताहरु सहभागी दुई बैठक मात्रै बसेको छ।

महामन्त्री डा महतले बैठकमा सहभागी हुनु नपर्ने कुनै कारण नभएको दाबी गरे। उनले भने, ‘किन पौडेल पक्षले बैठक बहिष्कार गरेका छन्? थाहा छैन।’ पौडेल पक्षले बैठक बहिष्कार गर्दै आएकाले बैठक सार्दै शुक्रबार पुनः बोलाइएको छ।

विवाद अन्त्यका संस्थापनबाट उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षबाट प्रकाशमान सिंह, दिलेन्द्र बडु र ह्दयराम थानीबीच बिहीबार साँझ पनि बैठक बसेको थियो। नेता सिंह निवास चाक्सीबारीमा बसेको बैठकले सहमति पहिल्याउन सकेन। हिजोको बैठकमा सहमति हुन नसकेपछि आफ्नो पक्षको लचकताको सीमा निर्धारण गर्न पौडेल समूहको बैठक महामन्त्री डा शशांक कोइरालाको निवासमा बसिरहेको हाे।

शुक्रबारको बैठकमा पनि सहभागी हुने सम्भावना हालसम्म नरहेको पौडेल निकट केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी गराए। महाधिवेशनको मिति, विभागको संख्या, तरुण दलको तदर्थ समितिलगायतका विषयमा पौडेल पक्षले लचकता देखाउने संकेत देखाएको छ। संस्थापन पक्ष २०७७ फागुन मसान्तसम्म १४ औं महाधिवेसन गर्न सहमतिमा पुगेको छ। पौडेल पक्षले २०७७ को मंसिरको अडान लिएको थियो।

२०७७ को फागुनसम्म सहमतिमा उल्लेख गरेपछि मंसिर, पुस, माघ वा फागुन जुन सुकै महिनामा पनि हुन सक्ने हुनाले पौडेल पक्षले उक्त अडानमा लचकता देखाउने भएको छ। एक वर्ष समयावधि बढाउन सकिने विधानमा व्यवस्था छ। त्यस अनुसार २०७७ फागुन २३ मा देउवाको एकवर्ष अवधि समेत गरि कार्यकाल सकिन्छ।

मंसिर १ बाट कार्यकाल सकिएको जीतजंग बस्नेत नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने पक्षमा सभापति देउवा छन्। पौडेल पक्षले नयाँ कार्यसमिति चयन हुनुपर्ने प्रस्ताव ल्याएको छ।

तरुण दलको तीन वर्षे कार्यकालमा केन्द्रीय कार्यसमिति जम्मा ४ जनामा सिमिति रह्याे। तरुण दलको पोखरा महाधिवेशनबाट चयन गरिएका चार जनालाई निरन्तरता दिने पक्षमा पौडेल पक्षसमेत पुगेको बताइएको छ।

शुक्रबार बसेको कार्यदलमा सहमतिको भाषा मिलाएर दुवै पक्षलाई निर्णय स्वीकार गर्ने गरी जाने सहमति भएको थियो। मंसिर २६ मा सुरु भएको केन्द्रीय समितिको बैठकमा देउवाले विभाग ४१ पुर्‍याएका छन्। विधानमा भएको व्यवस्थाभन्दा १३ बढी  विभाग प्रस्ताव गरिएको छ ।

सम्मानजनक हिस्सा प्राप्त हुने भए विभागमा सहमति गर्न सकिने निचोडमा पौडेल पक्ष पुगेको छ। यसअघि पुस ३ मा तेस्राे पक्षका नेता सिटौलासहित पौडेल पक्षको बैठक वरिष्ठ नेता पौडेल निवासमा संस्थापन इतरको रणनीति तय गर्न बसेको थियो। कोइराला निवासमा जारी पौडेल पक्षको बैठकमा संस्थापन इतरका सिटौला पक्षलाई भने बोलाइएको छैन। दिउँसो १ बजे बोलाइएको बैठकमा सिटौलाले समेत जाने/नजाने निर्णय गरिसकेका छैनन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय