बन्दना पोखरेल
रामपुर पाल्पा
अपाङ्गता भएका दुई छोरा र श्रीमानको हेरचाह गर्दै आएकी रामपुर ७ मझुवाकी भगवती पाठकको परिवारलाई पछिल्लो समय सहयोगहरु जुटिरहेको छ । पाठक परिवारलाई विदेशमा रहेका नेपाली तथा विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । वैदेशिक रोजगारमा रहेका युएईमा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् । अपाङ्गता भएका तीन बाबु छोराको उपचारमा सहयोगका लागि २ लाख १ हजार रकम सहयोग गरेका हुन् । युएईको आवुदावी स्थित लुलु कम्पनीमा कार्यरत नेपालीहरु सहयोग अभियान बाट संकलन गरेको १ लाख ७८ हजार रुपैयाँ र कालीगण्डकी बहुउद्देश्य सेवा समाज युएई मार्फत २३ हजार गरी २ लाख १ हजार सहयोग हस्तान्तरण गरिएको हो । पाठक परिवारलाई सोमबार एक कार्यक्रमका विच उनीहरुको घर मै पुगेर रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा र कालीगण्डकी बहुउद्देश्य सेवा समाजका अध्यक्ष भुपराज खनालका बुवा लोकनाथ खनालले रकम हस्तान्तरण गरेका हुन् । विभिन्न सञ्चार माध्यमहरु बाट पाठक परिवारको अवस्था सार्वजनिक भए पछि युएईमा कार्यरत नेपालीहरुले भगवती आमाको दुःखमा साथ दिनका लागि अभियान सञ्चालन गरेका थिए । रामपुर ७ का केशव रेग्मी, रामपुर ६ का लक्ष्मण ढकाल, रामपुर ४ का टोप प्रसाद श्रेष्ठ लगाएतका १९ जना युवाहरुले आवुदावीको विभिन्न कम्पनीहरुमा कार्यरत नेपालीहरु संग सहयोग आह्वान गरेका थिए । सहयोग अभियानमा खटिएका केशव रेग्मीले पाठक दाजु भाई र बुवाको उपचारको लागि रकम संकलन गरिएको बताउनुभयो । सहयोग रकम हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकाको तर्फ बाट र आफ्नो व्यक्तिगत तर्फ बाट सहयोग गरे पनि पर्याप्त नभएको अवस्थामा युवाहरुले देखाएको सद्भाव अत्ति प्रशंसनिय रहेका बताउनुभयो । उहाँले पाठक परिवारको अवस्था बाहिर ल्याउने सञ्चारकर्मीहरु तथा सहयोगीदाताहरु सबैलाई धन्यवाद समेत दिनुभयो । सामुदायिक रेडियो रामपुरका स्टेशन म्यानेजर बासुदेव ढकालले भगवती पाठकको आँट र साहसमा सहयोगी दाताहरुको साथले तीन बाबुछोराको हेरचाह थप टेवा पुग्ने बताउनुभयो । रकम ग्रहण गर्दै भगवती पाठकले सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिदै एउटी आमा माथि सयौं छोराहरुले दिएको साथलाई आफुले कहिल्यै नभुल्ने बताउनुभयो । उहाँले प्राप्त रकम उपचारमा प्रयोग गर्ने बताउनुभयो । रामपुर नगरपालिका वडा नं. ७ का वडा सदस्य मिठ्ठु मायाँ सुनारले वडाले पनि यस अघि सक्दो सहयोग गरेको र आगामी दिनमा पनि सहयोज जारी राख्ने बताउनुभयो । भगवती पाठकको २७ वर्षिय माईलो छोरा यादव पाठक जन्म देखि विस्तारा मै रहेको छ । श्रीमानको ६ वर्ष अघि दृष्टी गुमेको छ । जेठो छोरा ३५ वर्षिय लालप्रसाद पाठक पनि २ वर्ष अघि मजदुरीको क्रममा ढाड भाँचीएर विस्तरामै रहँदै आएको छ । रामपुर ७ का वडा सदस्य मिठ्ठु मायाँ सुनारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार इमान सिं रानाले गर्नु भएको हो । पाठक परिवारलाई यस अघि वि लभ पिपुल नामक संस्थाले पनि पाठक परिवारलाई देउसी भैलो खेलेर ३० हजार रुपैयाँ प्रदान गरेको थियो । त्यस्तै रामपुर नगरपालिका भित्रका कर्मचारीहरुले पनि १६ हजार ५ सय रकम प्रदान गरेको हो । यस अघि विभिन्न व्यक्तिहरुले पनि रकम सहयोग गरिसकेका छन् । पाठक परिवारको सहयोगार्थ युएईको दुवईमा पनि अभियान चलिरहेको रामपुर ३ घर भई हाल बैदेशिक रोजगारमा रहेका खगेश्वर पाल्पाली कान्छाले जानकारी दिनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय