पाल्पा(रामपुर),कार्तिक ७
बन्दना पाेखरेल
जिल्लाको पूर्वखोला गाउँपालिका प्रदेश पाँचकै पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भएको छ । पूर्ण संस्थागत सुत्केरीका निश्चित मापदण्ड पुरा गरेको गाउँपालिका विहिबार पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भएको हो । गाउँपालिकाले प्रसुतीको क्रममा आमा तथा नवजात शिशुको मृत्युदर कम गर्न पालिका भित्रका ६ वटै स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टर स्थापना गरेको थियो । पालिकालाई विहिबार ५ नं प्रदेश स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय पाल्पाको तर्फबाट गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको हो । घोषणा कार्यक्रममा प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । मन्त्री बरालले संविधानले प्रदान गरेको स्वास्थ्यको मौलिक हक प्रदानका लागि आवश्यक लगानी गरिरहेको बताउनु भयो । उहाँले सुरक्षित प्रसुती सेवा प्रवाहका लागि दुर्गम स्थानमा वर्थिङ्ग सेन्टर स्थापना गर्ने, बर्थिङ्ग सेन्टर भएको स्थानमा आवश्यक उपकरण पठाउने, स्वास्थ्यकर्मीहरुका लागि तालिम दिने तयारीमा प्रदेश सरकार रहेको उल्लेख गर्नु भएको थियो । मन्त्री बरालले भन्नु भयो ,‘गत वर्ष देखि नै प्रत्येक स्थानीय तहमा १५ वेडको अस्पताल सञ्चालन गर्ने, भएका स्थानमा आवश्यक स्वास्थ्यकर्मी परिचालन तथा उपकरण उपलब्ध गराउन प्रयत्न गरिरहेका छौं ।’ उनले पछिल्लो समय स्थानीय तहहरुले गरेको प्रयासले संघीयताले सार्थक रुप प्राप्त गरेको बताउनु भयो । दुरदराजका विकासका योजना निर्माणमा सिंहदरबारबाट मात्र सम्भव नहुने भएकाले संघीयता आएको बताउँदै मन्त्री बरालले स्थानीय तहले सुरुवात गरेका कार्यबाट प्रदेश र संघले पनि पाठ सिक्नु आवश्यक रहेकोमा जोड दिनु भएको छ । प्रदेश सांसद नारायण प्रसाद आचार्यले अधिकार प्राप्तिको लामो समयको संघर्षबाट प्राप्त उपलब्धीको कार्यान्वयनको क्रममा पूर्वखोलाले चरणवद्ध रुपमा बढाएको कार्य प्रशंसनिय रहेको बताउनु हुदै, संविधानले प्रदान गरेको अधिकारको प्रयोग गर्दै राम्रा कामको थालनी गर्न कसैले नरोक्ने धारणा व्यक्त गर्नु भयो । अर्को प्रदेश सांसद युवराज खनालले प्रदेश सरकार सामाजिक रुपान्तरण संगै पूर्वाधार निर्माणमा लागेको बताउनु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले पूर्वखोला गाउँपालिकाले स्वास्थ्य र शिक्षामा चालेको रचनात्मक कार्यको प्रशंसा गर्दै यसको अन्य पालिकाले पनि अनुसरण गर्नु आवश्यक रहेकोमा जोड दिनु भयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ, पूर्वखोला १ सिलुवाका वडा अध्यक्ष भोग बहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी नेकपा पूर्वखोलाका अध्यक्ष देवी प्रसाद पंगेनी, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कल्पना पौडेल, माथागढी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यम बहादुर चिदी, सुआहाराका प्रमुख ज्ञान दिप आचार्य, जनमार्ग माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम बहादुर दिशा, उद्धबुद्ध क्याम्पसका स्ववियु सभापति नविन आचार्य, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्याल लगायतले घोषणालाई दिगोपन दिन आग्रह गर्दै सचेतनाको विकासबाट मात्र विकास सम्भव भएको बताउनु भएको छ । गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले वर्थिङ्ग सेन्टरमा स्वास्थ्यकर्मी थप तथा वर्थिङ्ग सेन्टर स्थापना, सचेतना तथा प्रोत्साहन कार्यक्रम सञ्चालन संगै पूर्ण संस्थागत सुत्केरी घोषणा सम्भव भएको बताउनु भयो । स्वास्थ्य शाखा संयोजक श्रीराज आचार्यले गत आर्थिक वर्षमा ३ सय १० मध्ये १ सय ६९ जना पालिकाकै स्वास्थ्य संस्थामा र १ सय ४१ जना अन्य स्वास्थ्य संस्थामा सुत्केरी भएको बताए । उपाध्यक्ष भागीरथी भट्टराईको स्वागत,स्वास्थ्य शाखा प्रमुख मोहन ढकालको सञ्चालनमा कार्यक्रम भएको थियो ।
Top of Form
Bottom of Form