काठमाडौं– धनुषामा बोल्न नसक्ने बालिकामाथि बलात्कारपछि ज्युँदै जलाएर हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको पेवश्र–४ बेगौली टोलका ‘निरन’ भनिने निरज जर्गा मगर छन्।

धनुषामा आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पुष्टि भएको थियाे।

धनुषाकी ११ वर्षीया बालिका दुतिया रैसेलीको शव जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो। मिथिला नगरपालिका–३, हरिहरपुरका नारायण रैसेलीकी ११ वर्षीया छोरी दुतिया फागुन १ गते गाउँमै विवाह भोज खान गएकी थिइन्। साेही क्रममा नै उनकाे बलात्कारपछि हत्या भएकाे थियाे। उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो। दुतिया बाेल्न सक्दिनन्।

घटना शंकाष्पद भन्दै २ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानबाट बालिकाको सामूहिक बलात्कार गरेर जिउँदै जलाइएको पाइएपछि प्रहरीले हत्यारा खाेजतलासकाे काममा तीब्रता दिएकाे थियाे।

कसरी भयाे घटना?

धनुषाको मिथिला नगरपालिका-३, हरिहरपुरको मरधरस्थित मगरटोलका स्थानीयहरु फागुन २ गते बुधबार विवाहको भोजसँगै नाचगानमा व्यस्त थिए। बुधबार दिउँसो भएको विवाहको रौनक राति अबेरसम्म चलेको थियो। स्थानीयहरु विवाह समारोहको रमाइलोमा मग्न थिए।

त्यसरी विवाहको रमझममा सहभागी हुनेमध्ये ‘रेशमा’ भनेर चिनिने दुतिया रसाइली पनि थिइन्। उनी दिउँसो र साँझको कार्यक्रममा सहभागी भएकी थिइन्। तर, विवाहकाे रमझममा दिन बिताएकी दुतिया घर फर्किनन्। छिमेकमै विवाह भएकाले दुतियाका बाबु, हजुरबा र हजुरआमा उतै सुती होली भनेर आफ्नो घरमा सुते। छाेरी कता सुती भन्ने हेक्का राखेनन्।

केही समयदेखि दुतियाका आमा बुवासँगै बस्दैनथे। दितियाको परिवार अहिले अर्काको घरमा बस्दै आएको छ। आगो ताप्ने क्रममा घर जलेपछि उनीहरू अर्काको घरमा बस्दै आएका हुन्। दितियाका अभिभावकमध्ये ८० वर्षीय हजुरआमा सूर्यमाला रसाइलीको आँखाको दृष्टिशक्ति कमजोर छ। उनका बाबु देवनारायण विश्वकर्मा (रसाइली) सोझो स्वभावका छन्।

यस्तो परिवारमा बुधबारको विवाहको रमझम सकिन नपाउँदै बज्रपात आइपर्‍याे। सम्भवत: उक्त परिवारले सोचेको थिएन होला, बुधबार विवाहको रमझम सकिन नपाउँदै बिहीबार दुतिया होइन उनको शव भेटिनेछ भनेर। तर, भयो त्यस्तै।

बुधबार साँझ विवाहपछि नाचगान भइरहेका बेला विवाह घर गएकी कक्षा २ मा अध्ययनरत दुतिया रसाइली (रेशमा)को शव बिहीबार बिहान १० बजेतिर घरभन्दा करीब ५ सय मिटर पर उखुबारीमा फेला पर्‍यो।

बिहीबार बिहानसम्म पनि घर नफर्किएपछि उनको खोजी सुरु भएकाे थियाे। तर, छरछिमेक र गाउँले सबै लाग्दा पनि उनकाे पत्ताे पाउन सकेनन्। बिहीबार बिहान १० बजेतिर खेत जोत्न ट्रयाक्टर लिएर जाने एक जना स्थानीयले बच्चाको शव जलाएको अवस्थामा खेतमा रहेको खबर गाउँमा गरे।

उक्त खबर पाएपछि गाउँलेका बीचमा काैतुहलता र सन्नाटा छायो। जे भए पनि उक्त स्थानमा जानु उनीहरूको बाध्यता थियो, गए। तर, शव झट्टै चिन्न सक्ने अवस्थामा थिएन। दुतियाले लगाउने स्वेटर र हातले शव उनकै हो भनी घरपरिवार र स्थानीयहरुले यकिन गरे।

यस्ताे थियाे घटनास्थल

घटनास्थल पुगेकी महिला अधिकारकर्मी विना कडारीका अनुसार उखुबारीमा उनको शव जलाइएको अवस्थामा फेला परेको थियो। ‘शरीरमा कपडा थिएन, वरिपरि रगतका केही छिटाहरु देखा परेका थिए। उनको बलात्कारपश्चात् पहिचान नहोस् भन्ने मनसायले अपराधीले जलाएको हुनसक्ने कडारीले बताइन्।

घटनाबारे तत्कालै गाउँलेले प्रहरीलाई खबर गरे। उखुबारीमा शव फेला परेको खबर पाएपछि इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी घटनास्थल पुग्यो र अनुसन्धान थाल्यो।

मृतक दुतियाको आधा शरीर जलाइएको अवस्थामा भेटेपछि उनकाे शव पोस्टमार्टमका लागि जनकपुरस्थित अञ्चल अस्पताल लगिएकाे थियाे।

महिला अधिकारकर्मीहरु आन्दोलित

दुतियाको हत्या भएकाे पुष्टि भएपछि हत्यारालाई कारबाहीकाे माग गर्दै महिला अधिकारकर्मीले प्रदर्शन गरेका छन्। ‘दुतिया रसाइलीलाई न्याय देऊ’, ‘हत्यारालाई कारबाही गर’, ‘लागुऔषध बन्द गरौं’ जस्ता नारा लगाउँदै महिला अधिकारीकर्मीले मिथिला नगरपालिकाको मुख्यबजार क्षेत्र ढल्केवरमा प्रदर्शन गरेका छन्।

दुतिया हत्याका सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन महिला अधिकारकर्मीहरूले माग गरेका छन्।

पिडित परिवार अर्थात् रेशमाकी आमाले छोडेर गएपछि उनको हेरचाह गर्दै आएकी ८० वर्षीया हजुरआमा सूर्यमाला रसाइली अहिले विक्षिप्त अवस्थामा छिन्। नातिनीमाथि राखेका सपना तुहिएका छन्। सूर्यमालालाई घरमा सघाउने ८५ वर्षीय श्रीमान् र स्पष्टसँग बाेल्न नसक्ने देवनारायण विश्वकर्माको खुसीको संसारमा बज्रपात परेको महिला अधिकारकर्मी कल्पना कडारीले बताइन्।

उनी भन्छिन्, ‘हामी महिला अधिकारकर्मीहरु यस घटनाको सघन रुपमा छानबिन गर्न अनुरोध गर्छौं।’ अपराधीलाई कडा भन्दा कडा कारबाहीका लागि प्रहरी प्रशासन उपर दबाब सिजर्ना गर्ने उनको भनाइ छ। source www.nepallive.com

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय