संझना पौडेल
विवाहको आआफ्नो परम्पराअनुसार विभिन्न परिभाषा छन् । नेपाली परम्परा र मूल्य–मान्यताअनुसार विवाह केटा र केटीबीच र उनीहरूको परिवारबीचको एउटा समझदारी हो । विवाह समय, परिस्थिति तथा जातिपिच्छे फरकफरक किसिमले गर्ने गरिन्छ । तर, नेपालमा पछिल्लो चरणमा आएर नेपाली रीतिथितिअनुसार विवाह हुन छाडेको पनि छ । पहिले र अहिले पनि महिलाले शिरको सिउँदोमा सिन्दुर हालेर, गलामा पोते झुन्ड्याएर, जन्ती लिएर तथा पञ्चे बाजा बजाएर गरिने परम्परा पनि कायमै छ ।
यो एक औपचारिक सम्बन्ध पनि हो । सामाजिकीरणको प्रक्रियामा विवाह एउटा प्रक्रिया पनि हो । यसले अलग परिवारसँग जोडिएका समूहलाई एक सामाजिक सूत्रमा बाँध्ने काम गर्दछ । नेपाली समाजअनुसार विवाहलाई सामाजिक, धार्मिक तथा कानुनी रूपले मान्यता दिने गरिन्छ । महिला तथा पुरुष विभिन्न आर्थिक वा सामाजिक कार्यमा सहभागी बन्नु, सन्तान उत्पादन गर्नुका साथै तिनको सामाजिकीकरण गर्नु विवाहको सकारात्मक पक्षका रूपमा लिने गरिन्छ । विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो पनि हो । यस अर्थमा भन्न सकिन्छ कि विवाह दुई फरक लिंगका व्यक्तिबीच सम्बन्ध स्थापित गराई पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक माध्यम पनि हो । तर, आजभोलि विवाहजस्तो पवित्र सम्बन्धलाई मजाग गर्ने परम्परा नेपाली समाजमा बढ्दै गएको देख्न सकिन्छ । मसँग यस्ता धेरै उदाहरण छन् ।
गत वर्ष म जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिक वडापत्रबारे रिपोर्टिङ गर्नका लागि म तत्कालीन प्रमुख जिल्ला अधिकारी केदारनाथ अधिकारीको बाइट लिन गएँ । मैले लगभग ३० मिनेट उनलाई कार्यकक्षबाहिर कुरें । त्यसपछि मैले आफूलाई छिटो अफिस पुग्नु परेकाले भेटघाट छिटो मिलाउन अनुरोध गरेपछि उनको कार्यकक्षमा प्रवेश गर्ने समय पाएँ । त्यतिबेला उनको कार्यकक्षमा २२÷२३ वर्षे एकजना युवती अनि वैशाखी टेकेका एक विदेशी पुरुषसँगै दुई जना प्रहरी पनि थिए । सामान्य परिचयपछि प्रजिअले मलाई ठीक बेलामा आइपुगेको भन्दै एक सचेत महिलाको खाँचो परेको बताए ।
मैले प्रतिप्रश्न गरेर सोध्दा उनले भने, ‘हेर्नुहोस् न बैनी यी नानी भर्खर उमेरले २३ वर्ष पुगेकी केटा ५९ वर्षका बिहे गर्ने भनिरहेकी छन्, सम्झाउँदा मान्दिनन् उल्टै विवाह दर्ता गर्न मलाई ठूलो प्रेसर दिइरहेकी छन् । नेपाली चेलीहरू पीआरकै लोभमा यति बूढो मान्छेसँग जानु ठीक होइन, फेरि शारीरिक अशक्तता पनि छ । अमेरिका बस्ने भन्दैमा हामीले कसरी कानुनी विवाह गरिदिने ?’ म पनि आश्चर्यमा परें । ती बहिनी नर्सिङ पढ्दै रहिछन् । यस्तो देखियो विदेश मोह । उनीहरू बाहिरिए ।
म पनि बुझ्छु भनेर बाहिर निस्केर ती केटीको नजिक गएर थोरै के मात्र सोधेकी थिएँ, कुरा नै गर्न मानिनन् । उनलाई साथ दिने महिला वकिलले त उल्टै मेरो सातो खान थालिन् । मैले आफू पत्रकार भएको र नेपाल एफएम नेटवर्कमा काम गर्ने बताएपछि बरु ती विदेशी मसँग गफ गर्न तम्सिए । तर, ती वकिल महिला र युवतीले मलाई कुरा गर्न दिएनन् ।
मलाई उल्टो न सुल्टो लेख्छिन् यी पत्रकारले भनेर बिहे भाँड्न खोजेको समेत आरोप लगाइन् । उनीहरू हिँडेपछि मैले पनि थप खोजीनिती केही पनि नगरिकन अफिसतिर फर्किएँ । रिपोर्टिङ सकेर घरतिर फर्कंदा बाटोभरि मनमा तिनै कुरा आए, ती सुन्दर अनुहार गरेकी युवतीको मुहार झल्झली आँखामा आइरह्यो । त्यहीँबाट फर्कंदा नै संकल्प गरेकी थिएँ, एकदिन यो विषयमा पनि लेख्नेछु ।
आजको राजधानि दैनिक बाट साभार गरिएको हो ।