लीलानाथ घिमिरे

खाङसाङ्ग (सिन्धुली)-सिन्धुली जिल्लाको सगरमाथा भनेर चिनिएको फिक्कलको कृषि, पर्यटन, स्थानीय उत्पादन र कला संस्कृतिको प्रवर्धन गर्न आयोजित फिक्कल महोत्सवले यतिखेर खाङसाङ्ग रंगिन भएको छ । महोत्सवमा अवलोकनकर्ताको भीड बढिरहेको छ । स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुले स्टेज तताइरहेका छन् । उनीहरुको प्रस्तुतिसँगै अबलोकनकर्ताहरु झुमिरहेका देखिन्छन् । सिन्धुलीका कलाकारहरु भोजराज काफ्ले, डिजराज पौडेल, टीका प्रसाइ, लेखराज गुरुंग, हास्यकलाकार दिनेश काफ्ले महोत्सवका आकर्षण रहे । त्यस्तै लोकगायिका प्रिया भण्डारी, बुद्ध राई, रणबहादुर तामाङ, ज्योती मगरलायतले सबैलाई झुमाएका छन् ।

महोत्सवमा लोपोन्मुख लौरो जुधाउने खेलले सबैलाई आकर्षित गरिरहेको छ । पूराना लौरो खेलाडीले महोत्सवमा आफ्नो कला देखाउँछन् । लौरो आत्मरक्षा र आक्रमण गर्ने खेल हो । महोत्सवमा मगर, गुरुंगलगायतका जातजातीका भेषभुषासमेत प्रदर्शन हुँदै आएको छ । महोत्सवमा व्यावसायिकसहित १२० स्टल रहेको महोत्सव संयोजक तथा फिक्कल गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिए ।

फिक्कल महोत्सवको आकर्षण सिन्धुली कलाघर

फिक्कल महोत्सव घुम्न जानेहरुका लागि आकर्षणको केन्द्र बनेको छ सिन्धुली कलाघर । यसको डिजाइनर हुन् कलाकार सुमन आइडू । सिन्धुलीमा लोप हुन लागेका नेपाली मौलीक संस्कृति झल्कने सबै सामग्री कलाघरमा देख्न पाइन्छ । प्रगतिशिल प्रतिभा केन्द्रका कलाकारले तयार गरेको कलाघर महोत्सव स्थलभित्रको छुट्टै संसार हो । महोत्सवमा टिकट काटेर प्रवेश गर्ने अबलोकनकर्ताले यस कलाघरमा प्रवेश गर्न छुट्टै टिकट काट्नु पर्छ । कलाघर पस्नासाथ घरको भित्ताभरि देखिन्छ कलाकारले बनाएका कलाकृति । ऐतिहासिक सिन्धुलीगढीदेखि सिन्धुलीगढीलाई चिनाउने कलाकार कृष्णविक्रम थापासम्मका मुहारचित्र भित्तामा सजिएका छन् । कलाघरभित्र लडिरहेको रुखलाई समेत अजंगकाे राक्षस कलाकृतिको रुप दिइएको छ । रुखमुनि सजिएका छन् अर्का कलाकार विश्वम्भर लामिछानेले सिर्जना गरेका जर्बुट्टा कला । त्यसपछि नेपाली मौलिक भेषभुषामा सजिएका महिलापुरुषको डमी कलाघरको प्रांगणमा छन् ।

कलाघरभित्रै छ सिन्धुली रोधीघर । परालले छाएको रोधी घरमा । कलाघरमा लोपन्मुख घरेलु सामाग्रीहरु प्रदर्शन गरिएका छन् । मकैका झुत्ताहरु झुण्ड्याइएको घरमा लोपुन्मुख बाजाहरु बैंजडी, मुजुरा, ट्याम्को, दमाहा, मादल, मुरली, सारंगीलगायत राखिएका छन् । त्यस्तै सिन्धुली रोदीघरका छानाभरि फर्सी सजाइएको छ । मकैका झुत्ताहरु राखिएको घरको पीँढीमा ढिकी, जाँतो, माना पाथी, ठेकी, मदानी, पेरुंगो, डालो नांग्लो, गुन्द्री, पीरा, चटाइ आदि लोपन्मुख सामग्रीहरु सजाइएका छन् । कलाघर भित्र हलोजुवा, नारा, लगायतका सामग्रीसमेत राखिएको छ । यसै कलाघरमा सिन्धुलीका अधिकांश साहित्यकारहरुले प्रकाशन गरेका कृतिहरुसमेत छन् । कलाघरपरिसरमै भूकम्पमा ढलेको धरहराको प्रतीक बनाएर राखिएको छ । त्यस्तै फिक्कलको टावरलाई सम्झाउने बाँसको टावरसमेत कलाकारहरुले बनाएका छन् । यस टावरमा चढेर महोत्सव स्थललाई नियाल्न सकिन्छ । बिर्सिदै गएको नेपाली मौलिक संस्कृति, परंपरागत सामग्रीबारे नयाँ युवा पुस्ताजाई जानकारी गराउन फिक्कल महोत्सवमा सिन्धुली कलाघर निर्माण गरिएको कलाकार सुमन आइडूले बताए ।,

फिक्कलको सौन्दर्य कलाकारितामा, कलाकारले बनाए २३ चित्रकला

फिक्कलको पर्यटकीय प्रबर्धन गर्न आयोजित फिक्कल महोत्सवमा कला शिविरसमेत आयोजना गरिएको छ । शिविरमा काठमाडौंबाट गएका कलाकारहरुले फिक्कल डाँडा र महोत्सव स्थल खाङसाङमा कला सिर्जना गरेका थिए । फिक्कल डाँडाबाट ताप्लेजुङदेखि कास्कीसम्मका हिमालय शृङ्खला देख्न सकिन्छ । कलाकारहरुले त्यहाँबाट देखिने हिमश्रृङ्खला, स्थानीय जनजीवन, सुनकोशीको र्याफ्टिङ, प्याराग्लाइडिङ, हिमाल, पहाड, तराइको चित्र कोरेका थिए । फिक्कल गाउँपालिकाले आयोजना गरेको कला शिविरमा छ जना कलाकार सहभागी थिए । शिविरको संयोजन पत्रकार दीपक श्रेष्ठले गरेका थिए । शिविरमा कलाकारहरु अंशुराम खाइजु, मंगल प्रजापती, सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, डिकेश महर्जन र अनिल खड्का सहभागी थिए । उनीहरुले तयार गरेका २३ थान चित्रकलाको फिक्कल महोत्सव स्थलमा प्रदर्शन गरिएको थियो ।

महोत्सवकी संयोजक पार्वती सुनुवारले चित्रकलामार्फत पर्यटन प्रवर्धन कला शिविर आयोजना गरिएको जानकारी दिइन् । उनले महोत्सवमा चित्रकलाको छुट्टै स्टल राखिएको बताइन् ।

कलाकारहरु कला सिर्जना गर्न फिक्कलको डाँडामै केही दिन बसेका थिए । कलाकार सुरेम देशारले फिक्कलको चुचुरोबाट देखिने हिमश्रृङ्खला र तराइको समथर फाँटको दृष्यले आफूहरुलाई मोहित बनाएको बताए । उनका अनुसार कलाकारहरुले पूर्वपश्चिम फैलिएको हिमश्रृङ्खलाको प्यानोरोमिक भ्युमा धेरै वटा जोडेर एउटै बनाउन मिल्ने चित्रकला बनाएका छन् ।

महोत्सवमा प्याराग्लाइडिङको आकर्षण

फिक्कलको प्रबर्धन गर्न महोत्सवमा प्याराग्लाइडिङ उडानसमेत भइरहेको छ । ओखलढुङ्गाको टोड्के डाँडोबाट उडान भइरहेको छ । ट्याक्टर चढेर पुगिने उक्त स्थलबाट उडेको प्याराग्लाइडिङ खाङसाङस्थित सुनकोशी किनारमा अबतरण गर्छ । उडानको अवधि २० मिनेटको हुन्छ । महोत्सव स्थलमा प्याराग्लाइडिङ गर्ने यात्रु अबतरण गर्दा अबलोकनकर्ताहरु हेर्न झुम्मिएका थिए । प्याराग्लाइडिङ गर्दा नागबेली परेको सुनकोशी, मध्यपहाडी राजमार्ग, कोशीको खोँच र फिक्कल डाँडावरपरको दृष्य निकै मनमोहक देखिएको कलाकार दीनेश काफ्लेले बताए । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–२ का दिलकुमार सुनुवारले फ्लाई हिमालयन प्याराग्लाइडिङ कम्पनीमार्फत पर्यटकलाई आकाशमा उडाउँदै आएका छन् ।उनलेयस क्षेत्रमा पहिलोपटक प्याराग्लाइडिङ उडान गरेको बताए ।

सुनकोशीमा र्‍याफ्टिङ

महोत्सव स्थल सुनकोशीको किनारमा छ । त्यहाँ महोत्सवका अबसरमा ‘र्‍याफ्टिङ’ समेत संचालन गरिएको छ । महोत्सवमा खाङसाङदेखि १ घण्टाको दुरीसम्म जलयात्रको आनन्द लिन पाइन्छ । पहिलो जलयात्रामा पत्रकारहरुसँगै सांसद गणेश पहाडीसमेत सहभागी थिए । उनले जलयात्रालाई ब्यवसायिक रुपमा अगाडि बढाउन लागिएको बताए । जलयात्रका क्रममा पानी हाँस, जलेवालगायतका बथान भेटिएका थिए । सुनकोशी नदीमा र्याफ्टिङको प्रचुर संभावना छ । भोटेकोशीदेखि सप्तकोशीसम्म रमाइलो गर्दै जलयात्रा गर्न सकिने जलयात्रा पथप्रदर्शक खुम रानामगरले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय