काठमाण्डु, ३ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले यात्रु बोक्ने मोटरसाइकलमाथि कुनै छलफलबिना अचानक कारबाही भएको बताएका छन् ।

बुधबार साँझ प्रसारित जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले सरसल्लाह गरेको नभई कहिँकतैबाट भूलबस त्यस्तो भएको बताए ।

उनले अबदेखि ‘राइड सेयरिङ’ टुटल र पठाओलाई मोटरसाइकलमा यात्रु ओसार्न बन्देज नलगाइने बताए ।

‘यो ‘इनोभेसन’ वा खोजसँग जोडिएको कुरा त भन्न मिल्दैन किनभने यस्तो अभ्यास थाइल्याण्ड, भियतनामलगायत अरू देशमा पनि छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता अभ्यासहरू कानुनको दायरामा छैनन् भने हुनुपर्छ । किनकी परिवर्तित अभ्यासले कानुनको माग गर्छ, कानुनले परिवर्तित सन्दर्भको माग गर्ने होइन । यदि कोही कानुनी दायरामा आउन जरूरी छ भने कानुनी अभ्यासमा ल्याउन सकिन्छ ।’

उनले यात्रु बोक्ने मोटरसाइकलमाथिको कारबाही अनौठो र अचानक भएको दोहोर्‍याए ।

‘यो अनौठो अभ्यास अचानक कतैबाट भयो । कम्पनी दर्ता गरेर चलाउ भनेर आह्वान पनि गरेको छैन । तर पछाडि बसेको को हो भनेर चालकलाई सोध्ने । अनि चलाउने को हो र मोटरसाइकल कसको हो भनेर पछाडि बसेकाले सोध्ने अभ्यासतिर जानु वाञ्छनीय हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण कम्पनी दर्ता गर्ने कानुन बनाएर व्यवस्थित गर्ने दिशामा जानुपर्छ । अप्रत्यासित ब्रेक लगाउँदा त्यसमा समस्या आउन सक्छ ।’

प्रधानमन्त्री ओलीले त्यस्ता मोटरसाइकलमाथि कारबाही भएको कुरामा आफूले रूचीसाथ हेरिरहेको बताए ।

‘भूलचुकले त्यस्तो काम भएको होला, अब रोकावटको काम हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय